सहकारीको बचत हिनामिनाः संसदीय छानबिन समिति बनाउन एसको माग
एकीकृत समाजवादीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन् ।
उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरूपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद् घटनाहरू सार्वजनिक भइरहेको बताए । समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको उनको भनाइ छ ।
प्रवक्ता खतिवडाले लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तीय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग माग गरे ।
प्रतिक्रिया