पार्टीमा भ्रष्ट र पदलोलुप प्रवृत्ति खतरनाक रुपमा देखिएको छः अध्यक्ष नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताएका हुन् ।
उनले पार्टीभित्र भ्रष्टीकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने बताए । आफूहरुले राजनीतिको भ्रष्टीकरणविरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको नेपालको भनाइ छ ।
‘हाम्रो पार्टीको सम्बन्धमा पनि हल्लाहरु चले । अर्को पार्टी खडा गर्न तयारी पनि भइसकेको थियो भन्ने पनि चर्चा चल्यो । ६ जना लाँदैछन् भन्ने हल्लाहरु पनि चले । हामी पनि आत्तियौँ । के हो वास्तविकता ? बसेर फेरि छलफल ग¥यौँ । छलफल गरेपछि जति गणना गर्दा पनि देखिँदैन । कतिपय साथीहरुका असन्तुष्टि छन् भने पनि बसेर, छलफल गरेर टुंगो लगाउन नसकिने कुरो पनि छैन । त्यस अर्थमा हामीले असन्तुष्टिहरुलाई पनि राम्रो ढंगले प्रष्ट पार्ने, सन्तुष्ट त कसरी पार्न सकिएला र ? एकछिनको लागि चित्त बुझाउने र विश्वास दिलाउने कोशिस हुनुपर्दछ,’ नेपालले भने ।
अध्यक्ष नेपालले राजनीतिक समीकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडि बढिरहेको बताए । उनले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरविरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेका बताए । उनले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेका भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताए ।
उनले वर्तमान सत्ता समीकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिए ।
प्रतिक्रिया