संसद्को संयुक्त बैठक : सभामुख परामर्शमा व्यस्त
१ जेठ २०८१ ९:३७
राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची छ । दिउँसो ३ बजे प्रस्तुत गरिने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।
सभामुख देवराज घिमिरेले दिउँसो १२ः३० बजे राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् । उनले दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ ।
सरकारको वार्षिक बजेटअघि संघीय संसद्का दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया