वर्तमान सत्ता गठबन्धन फेरबदल हुन सक्छ : नेपाल
सत्तारूढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन फेरबदल हुन सक्ने बताएका छन् । पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै उनले सत्ता गठबन्धन फेरिन सक्ने बताएका हुन् ।
‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
उनले तत्काल वाम एकता सम्भव नहुने पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । पार्टी एकता हुन पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्ने नेपालको भनाइ छ ।
‘हामीले सुरुदेखि नै क्रान्तिकारी कम्युनिष्टहरू, खासगरी समाजवादी कार्यदिशा अँगालेका कम्युनिष्ट घटकहरूबीच एकता हुनुपर्ने कुरामा जोड दिँदै आएका छौँ। केही साना घटकलाई पार्टीमा एकताबद्ध गरेका पनि छौँ। साथै नेकपा (माओवादी केन्द्र) र जसपा लगायतका पार्टीसँग एकता वार्ता पनि चलाएका थियौँ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन । पार्टी एकता हुन पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ ।’
प्रतिक्रिया