महन्थबाट मुखमै जवाफ लिएर फर्किए उपेन्द्र
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सहयोग माग्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भेट्न उनकै निवास पुगेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले धोका दिएको भन्दै सहयोग गर्न यादवले ठाकुरलाई अनुरोध गरे । तर महन्थ ठाकुरले उपेन्द्रलाई विगत सम्झाउदै जसपा नेपालसँग तत्काल कुनै सहकार्य गर्न नसकिने बताएको स्रोतले जनाएको छ ।
उपेन्द्रले आफूलाई कैयौं पटक धोखा दिएको र आफूलाई अप्ठ्यारो परेको बेला खुट्टा ढोग्ने र काम भएपछि पछाडिबाट वार गर्ने पुरानो बानी रहेको ठाकुरले बताएको लोसपा नेताले जानकारी दिए ।
जसपा विभाजनसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए । यादव अध्यक्ष रहेको जसपा नेपाल हालै विभाजित भएको थियो । १२ सांसदमध्ये ७ सांसदको साथ लिएर अशोक राईले पार्टी विभाजन गरी जसपा गठन गरेका थिए ।
राईले पार्टी फुटाउनुको कारण यादव वर्तमान गठबन्धन भत्काउन सक्रिय रहेको आरोप लगाएको थियो । यादवले एकीकृत समाजवादीसँग मिलेर कांग्रेससँग वार्ता गरेको र प्रधानमन्त्री पाए गठबन्धन भत्काउने तयारी गरेको राई पक्षको आरोप थियो । सोही कारण सरकारलाई अस्थिर हुन नदिन पार्टी फुटाउनु परेको राई पक्षको जिकिर थियो ।
यादवले भने आफूले त्यस्तो गतिविधि नगरेको र वर्तमान सरकारलाई समर्थन जारी रहने जनाएका थिए । तर, केही दिनअघि जनकपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सत्तारुढ दलले आफ्नो पार्टी फुटाएको आरोप लगाएका थिए ।
जसपा नेपालको नेतृत्वमा रहेको मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएसँगै यादवले पदबाट राजीनामा दिएका छन् । यस अघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई सरकार छोड्ने निर्देशन दिएका थिए ।
जसपा नेपालको बिभाजनपछि उपेन्द्र यादवले केन्द्रसहित मधेशको सरकार समेत गुमाएका छन् ।
प्रतिक्रिया