सहकारीको बचत अपचलन : गृहमन्त्री लामिछानेमाथि कतै अनुसन्धान, कतै अभियोजनमा नाम

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार शीर्ष नेताहरुसँग सभामुखको छलफलको क्रममा आफूमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव अस्वीकार गरे । बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा आफूलाई महान्यायाधिवक्ताको कार्यालयले कतै कुनै मुद्दामा अनुसन्धान वा अभियोजन नभएको पत्र दिएको जिकिर गरे ।

तर, रूपन्देही जिल्ला अदालतमा सरकार वकिलको कार्यालयले दायर गरेको मुद्दामा प्रस्तुत प्रतिवेदनमा भने लामिछानेले पनि ‘बिनाधितो, बिनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अभियुक्त नबनाइए पनि उनको नाममा बुटवलको सुप्रिम सहकारीबाट ऋण निकालिएको प्रतिवेदनमा उल्लेख छ ।

‘रवि लामछिानेका नाममा दुई करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नं. ०४०१०१००००५७७७ मा ग्लोबल आईएमई बैंकमा जम्मा भएको देखिने कागजात भेटिएका छन्,’ अभियोजन पत्रमा उल्लेख छ ।

सुप्रिम सहकारीका करिब १० हजार बचतकर्ता छन् । उनीहरुमाथि १ हजार ८ सय ३१ सदस्यले प्रहरीमा गत चैत १ मा बचत फिर्ता गराइदिन भन्दै उजुरी दिएका थिए । प्रहरीले अनुसन्धापछि प्रतिवेदन तयार गरेर सरकारी वकिललाई बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले वैशाख ३ मा जिल्ला अदालतमा अभियोजनपत्र दायर गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा पनि गृहमन्त्री लामिछाने मुछिएका छन् । पोखरा महानगरले तयार पारेको अध्ययन प्रतिवेदनमा उनले उक्त सहकारीबाट कारोबार गरेको उल्लेख छ ।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिले लामिछाने, उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बाँस्तोला र १४ कम्पनीविरुद्ध माघ २२ मा जिल्ला प्रहरी कार्यालयमा पुरक उजुरी दिएका थिए । यसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले लामिछानेसहित ४ व्यक्ति र १४ कम्पनीविरुद्ध पीडितले दिएको उजुरीलाई सूचनाका रूपमा लिएको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।

जीबी (गितेन्द्रबाबु) राई समूहले सञ्चालन गरेका यीसहित चितवन, वीरगन्जका सहकारीबाट ठूलो रकम अपचलन भएको छ । यी रकम जीबी राई समूहले गोर्खा मिडिया नेटवर्क लगायत कम्पनीमा लगानी गरेका थिए । जुन गैरकानुनी थियो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक समेत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर