जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संसद सचिवालयलाई
निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयलाई पठाएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट विद्रोह गरी अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी बनाउन आइतबार निर्वाचन आयोगमा निवेदन परेको थियो। आयोगले सोमबार सो दललाई दल दर्ताको प्रमाणपत्र दिएको छ।
जनता समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै आयोगले सो कुराको जानकारी संघीय संसद सचिवालयलाई पनि गराएको छ। राई नेतृत्वको जसपामा ७ जना सांसदहरु रहेका छन्।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ता गरेको व्यहोरा उल्लेख गरी सचिवालयलाई पत्र पठाएको जानकारी दिए।
उनले आगामी वैशाख २८ गते संसदको बजेट अधिवेशन आह्वान भएको सन्दर्भमा जसपा सत्तापक्ष वा प्रतिपक्षमा बस्ने कुरा सोधेर सोहीअनुसारको सिट व्यवस्थापन गरिने जानकारी दिए।
उनले जसपालाई संसदीय दलको कार्यालयसमेत उपलब्ध गराइने बताए। जनता समाजवादी पार्टी, नेपालबाट फुटेर बनेको जसपा राष्ट्रिय मान्यताप्राप्त दल हो वा होइन भन्ने कुराको पुष्टि भने निर्वाचन आयोगले गर्ने उनले बताए।
प्रतिक्रिया