पर्यटन, आइटी, जलविद्युत, सिमेन्ट र कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा पर्यटन, आइटी, जलविद्युत, खानीजन्य उत्पादन सिमेन्ट र कृषि क्षेत्रलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नेगरी बजेट निर्माण गरिने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धी छलफलमा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले पर्यटन, आइटी, जलविद्युत, खानीजन्य उत्पादनका सिमेन्ट उद्योग र कृषि प्रतिस्पर्धी क्षेत्र भएकाले सरकारको प्राथमिकता रहेको बताए । मन्त्री पुनले आयात प्रतिस्थापन गर्ने क्षेत्रलाई प्रवर्द्धन गर्नेगरी प्राथमिकतामा राखेर बजेट ल्याउनमा जोड दिने प्रतिबद्धता जनाए ।

उनले सरकारले शिक्षा र स्वास्थलाई पनि प्राथमिकता दिने बताए । उनले शिक्षा स्वास्थ्य क्षेत्रको बजेट १० प्रतिशतसम्म खर्च गर्नेगरी नीतिगत सुधार गर्न सुझाव आएको भन्दै त्यसमा सरकारको ध्यान गएको बताए । मन्त्री पुनले रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन गर्नसक्ने आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।

उनले कृषिमा भएको बजार र खपत भएका वस्तुहरूलाई प्रतिस्थापन गर्ने योजना सरकारको रहेको सुनाए । उनले निर्वाहमुखी कृषि भएकाले ३ खर्ब बढी वार्षिक रूपमा कृषि वस्तुहरू आयात गरिरहेको भन्दै कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।

उनले त्यसको लागि कृषि क्षेत्रमा नीतिगत रूपले उत्पादनमा सहुलियत दिएर बजार र उद्योगसँग जोडी आधुनिकरण गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *