श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रिय सभा अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिर्दै अध्यक्ष दाहालले श्रमिकको हितका लागि निर्माण गरिएका नीतिगत व्यवस्थालाई कार्यान्वयन गरिनुपर्ने बताएका हुन् ।
शुभकामना सन्देश दिर्दै उनले भने, ‘श्रमिक वर्गको हितका लागि रोजगारीको ग्यारेन्टी, व्यावसायिक सुरक्षा, स्वास्थ्योपचार, कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नै पर्दछ । मजदुरको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षाका लागि बीमालगायतका लोककल्याणकारी सेवा प्रवाहको क्षेत्रमा राज्यले नीतिगत व्यवस्थाका साथै कार्यान्वयनको तहमा लैजानुपर्दछ ।’
नेपालको संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको तथा श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले श्रमिकका पक्षमा बनेका कानुन र संविधान प्रदत्त हक कार्यान्वयन भएमा मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने उल्लेख गरे ।
नेपालका राजनीतिक परिवर्तनका लागि श्रमिक तथा मजदुर वर्गले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनले बताएका छन्। ‘नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्, दाहालको शुभकामना सन्देशमा भनिएको छ, किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।’
अन्तर्राष्ट्रिय श्रमिक दिवसले समस्त श्रमिकहरूलाई पेसागत हक हित र अधिकारका लागि सङ्गठित र एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने मैले विश्वास पनि उनले व्यक्त गरे ।
पहिलो पटक सन् १८८६ मई १ का दिन अमेरिकाको सिकागो सहरका मजदुरले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आन्दोलन गरेका थिए । त्यही दिनको स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरले १ मे लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।
प्रतिक्रिया