बरालको अर्धकदको शालिक शनिबार एक कार्यक्रमका बीच अनावरण गरिएको हो। यो मन्दिर स्थापना गर्न बरालको भूमिका थियो। स्वर्गीय बराल साहित्यकार पनि थिए।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्दप्रसाद लुइँटेल र पूर्वसांसद् दिलकुमारी राईको उपस्थितिका बीच शालिक अनावरण गरिएको परिवारका सदस्य पुजन बरालले जानकारी दिए।
बरालको पैतृक थलो नेपालको तत्कालीन पाल्पा (हाल नवलपुर) स्थित चुली बोझा गाउँ हो।
उनका बुवा कप्तान सर्वजित बराल ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ पाउने पहिलो नेपाली हुन्। सर्वजितले ६ वर्षसम्म संयुक्त अधिराज्य बेलायतको बकिङ्गह्याम दरबारमा रानी भिक्टोरियाको पार्श्ववर्ती (एडीसी) भई काम गरेका थिए।
विसं १९४७ मा जन्मिएका बहादुरसिंह बराल कक्षा ८ सम्म पढेका थिए। विसं १९७० असार ३ गते पहिलो गोर्खा राइफल्सको दोस्रो बटालियनमा जमदार पदमा भर्ती भए। क्रमश बढुवा हुँदै सुबेदार मेजरसम्म भए। उनले पहिलो चरणमा २१ वर्ष गोर्खा सैनिकका रूपमा सेवा गरे।
दोस्रो विश्वयुद्धको प्रारम्भसँगै सरकारी आह्वान अनुसार उनी पुन: सैनिक सेवामा प्रवेश गरे र २००८ सालसम्म काम गरे। यस अवधिमा उनलाई कप्तानको दर्जा पनि प्रदान गरियो।
पहिलो विश्वयुद्ध सुरु हुँदा उनी आफ्नो पल्टन लिएर फ्रान्सको रणभूमिमा सरिक भएका थिए। त्यसबेला उनी ‘मेम्बर अफ भिक्टोरियन अर्डर’ र ‘अर्डर अफ ब्रिटिस इन्डिया’बाट विभूषित भएका थिए।
बहादुरसिंह बराल एक प्रसिद्ध नेपाली कवि एवं साहित्यकार पनि थिए। ‘बरालको आँसु’ नामक उनको कृतिमा गीत, गजल र भजनको संकलन छ।
बहादुरसिंहको रूचि गायनमा पनि थियो। बाल्यकालदेखि सुमधुर स्वरमा गीत गाउन थालेका उनलाई पल्टनमा ‘शंखस्वर’ भन्ने गरिन्थ्यो।
उनी विभिन्न सामाजिक संस्थामा पनि क्रियाशील रहे। उनी ‘अल इन्डिया गोर्खा एसोसिएसन’ को अध्यक्षका साथै ‘गोर्खा ढोगभेट/सत्संग प्रचारिणी सभा’ को अध्यक्ष भएर सामाजिक सुधारका कार्यमा क्रियाशील भए ।बहादुरसिंहका छोरा खड्गजित बराल नेपाल प्रहरीका महानिरीक्षक र म्यानमारका लागि नेपाली राजदूत पनि भएका थिए।
बहादुरसिंहको निधन विसं २०१८ मा भएको थियो।
प्रतिक्रिया