सत्ता सहयात्रासँगै एउटै कम्युनिस्ट केन्द्र निर्माणको संकल्प गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्दै बदलिँदो राजनीतिक समीकरणले सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने विश्वास जनाएका छन् ।

सोमबार प्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्तिका नायक कमरेड भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको सुखद अवसरमा शुभकामना दिदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीद्वारा जारी शुभकानमा सन्देशमा उल्लेख छ, ‘लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ।’

‘विचारधारात्मक सङ्घर्ष एवम् एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ ।,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबिच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।’

‘कम्युनिष्ट एवम् वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो ।’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर