सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो ।
सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ ।
यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार÷चार अनधिकृत संरचना पनि खाली गराइएको छ । महेन्द्रनगरस्थित सरकार कार्यालय अगाडिका ४० मध्ये ३८ संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।
वैशाख ३ गते कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उनले बताए । बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ ।
दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ । बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन् ।
यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन् । बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ ।
प्रतिक्रिया