अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा. रविन कडरियाले बताए । ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ,’ उनले भने, ‘असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।’ यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उनले बताए ।
अघिल्लो वर्ष १ सय ७३ देशका १ लाख ९१ हजार ५ सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । यो संख्या हालसम्मकै बढी भएको आयोनजा उनले जानकारी दिए । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार १ सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा १ लाख २९ हजार ७ सय ३३ पर्यटक आएका थिए ।
पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताए । ‘पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ,’ उनले भने ।
अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
सात हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
प्रतिक्रिया