न्यायमा पहुँच अभिवृद्धि गर्न लाग्नुपर्छ : प्रधान न्यायाधीश श्रेष्ठ
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो, कम खर्चिलो र न्यायमा पहुँच अभिवृद्धि गर्नमा सधैँ लाग्नुपर्ने बताएका छन्। नियमित निरीक्षणका क्रममा आज विशेष अदालतमा पुगेका प्रधान न्यायाधीश श्रेष्ठले श्रव्य दृश्य सुनुवाइको शुभारम्भ गर्दै छिटो र कम खर्चिलो न्यायका लागि सबैले काम गर्नुपर्नेमा जोड दिए ।
प्रधान न्यायाधीश श्रेष्ठले विशेष अदालत काठमाडौँमा मात्र भएको हुनाले श्रव्य दृश्य सुनुवाइको अझ धेरै महत्त्व भएको र देशभरबाट न्यायका उपभोक्तालाई सहज न्याय पुर्याउन सक्ने विश्वास व्यक्त गरे । उनले मुद्दा फर्छ्यौटमा राम्रो प्रगति गरेको र कामप्रति जागरुकता देखाएकोमा आफूलाई सन्तोष लागेको बताए ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले विशेष अदालतमा आजदेखि श्रव्य दृश्य सुनुवाइ प्रारम्भ गरेको र सूचना प्रविधिको उच्चतम र सही प्रयोगमा गरी न्यायमा सहज पहुँच बनाउन प्रयत्न गरिरहेको बताए ।
सोही अवसरमा विशेष अदालत बार एशोसिशनका अध्यक्ष चुणामणि पौडेल र सचिव टीकाबहादुर कुँवरले बार र बेन्चबीच सहकार्य गरेर काम गरिहेको र अदालतमा आएको पछिल्लो टिमले मुद्दा फछर्यौटमा उल्लेख्य सुधार गरेको प्रधान न्यायाधीशलाई जानकारी गराएका थिए ।
प्रधान न्यायाधीश श्रेष्ठले बार र बेन्चबीच सहकार्य जरुरी हुने र तीव्र मुद्दाको सुनुवाइ र न्यायमा पहुँच अभिवृद्धि गर्न सम्भव हुने बताए । प्रधान न्यायाधीश श्रेष्ठले अदालतको समग्र निरीक्षण गर्दै मुद्दाको प्रगतिबारे जानकारी दिँदै कर्मचारीसँगसमेत कुराकानी गरेका थिए ।
प्रतिक्रिया