५६ लाख ४३ हजार बालबालिकाले लगाए दादुरा-रुवेलाविरुद्धको खोप
८ चैत २०८० १०:२७
सरकारले सञ्चालन गरेको दादुरा-रुवेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् ।
दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गत फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो ।
सरकारले यस वर्ष दादुरा रुवेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोट जिल्ला बाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।
भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो । खोप अभियान सफल बनाउन देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ जना स्वयंसेवक परिचालन गरिएको थियो ।
प्रतिक्रिया