ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाइने बताए ।
मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हितसम्बन्धी कामलाई परिणाममुखी बनाइने बताए । उनले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारीसमेत गरिएको दोहोर्याए ।
उनका अनुसार तीनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो व्यवस्थापन गरिनेछ । मन्त्री भण्डारीले व्यावसायिक नैतिकतासहितको उत्पादन तथा बिक्री वितरणको वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीव्रता दिनु अहिलेको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा विभागका प्रमुख जितु गौतमले तरकारीमा विषादिको परीक्षणबिना भारतबाट तरकारी आयात भइरहेको उल्लेख गर्दै विषादीको परीक्षण नगरी तरकारी तथा फलफूलजन्य वस्तुको आयात पूर्णरूपले प्रतिबन्ध लगाइनुपर्ने बताए । उनले बजारमा विभिन्न वस्तु र सेवामा भइरहेको कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, एकाधिकार, मिलेमतो, गुणस्तरहीन वस्तुको बिक्री, भ्रमपूर्ण विज्ञापन र नापतौल ठगीको कडाइका साथ नियन्त्रण गरिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया