म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउनु पर्ने अभियान

म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रूपमा भेडाको ऊनबाट बनाउने हाब्दुल, काम्लो, स्विटर, टोपीलगायतका मौलिक पोसाक लोपोन्मुख अवस्थामा पुगेपछि ती समुदाय संरक्षणमा लागेका हुन् ।

पुर्खाले भेडापालन गर्ने र भेडाको ऊनबाट कपडा बनाउने पेसा अँगालेकामा पछिल्लो समय ऊनबाट बनेका कपडा हराएर जान थालेपछि गाउँमा सबैले ऊनका कपडा लगाउने अभियान चलाएको स्थानीय यामबहादुर छन्त्यालले बताए ।  ‘परम्परागत भेडा बाख्रापालनलाई हामीले निरन्तरता दिँदै आएका छौँ, तर भेडा बाख्राको ऊनबाट बनाइने हाब्दुलो, काम्लोलगायत लोप हुन लागेका छन्, हामीले पुर्ख्यौलीलाई नमासौँ भनेर अग्रसरता दिएका हौँ, उनले भने ।

भेडाबाख्रा पाल्दै आएका छन्त्यालले गाउँमा अहिले ऊनबाट बनेका कपडा लगाउने लहर नै चलेको बताए। घरायसी काम, गोठ बस्दा र सार्वजनिक कार्यक्रममा ऊनबाट बुनेर बनाइएका हाम्दुलोको प्रयोग हुने थालेको छ । भेडा बाख्राको ऊन खेर जान नदिन र ऊनबाट कपडा बुन्ने पेसा हराएर जान नदिन युवाको अग्रसरतामा परम्परागत पोसाक बनाउने र लगाउन थालिएको छ ।

ठाडाखानीमा अहिले पनि भेडा बाख्रापालन हुँदै आएको छ । यहाँका स्थानीयले करिब एक हजार ५०० को हाराहारीमा भेडाबाख्रा पालेका छन् । भेडा बाख्राको ऊन काढेर उनलाई प्रशोधन गरेर धागो बनाएपछि तानमा बुनेर कपडा बनाउने गरिन्छ । ऊनबाट कपडा बनाउने पेसा सङ्कटमा पर्दै गएपछि यहाँका स्थानीयले अभियानकै रूपमा ऊनका कपडा लगाउन थालेका हुन् । ऊनबाट बनेका कपडा न्यानो हुने र धेरै वर्ष टिकाउ हुने भएकाले गोठमा बस्नेले अधिक मात्रामा प्रयोग गर्ने चलन रहेको छ ।

भेडा बाख्राको ऊनलाई प्रशोधन गरेर चर्खाबाट धागो बनाई, तानमा बुनेर हाब्दुल, काम्लो, टोपी, स्विटरलगायतका सामान बनाउने गरिन्छ । परम्परागत पोसाक सँगसँगै पुर्ख्यौली पेसाको रूपमा रहेको खानी खन्ने र घरायसी काममा प्रयोग गरिने कोर्को, डोको थुन्सेलगायतका सामानलाई समेत जर्गेना गर्न थालिएको स्थानीय जीतबहादुर छन्त्यालले बताए । पुर्खाले सिर्जना गरेका पहिचानलाई जोगाएर नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि स्थानीयले अग्रसरता देखाएको उनको भनाइ छ ।

ती समुदायको बाहुल्य बसोबास रहेको ठाडाखानीका बासिन्दाले वेशभूषा, पेसा र सीपसँगै भाषा, संस्कृतिलाई समेत जगेर्ना गरेका छन् । स्थानीयस्तरमा छन्त्याल खाम भाषालाई बोलीचालीको प्रचलनमा ल्याएका छन् भने पुर्ख्यौली सोरठी, मादले मारुनीलगायतका नाचलाई समेत जीवन्त राखेका छन् । गाउँमा हुने सार्वजनिक कार्यक्रम र बाहिरबाट आउने अतिथिको स्वागतमा मौलिक पुर्ख्यौली नाचले स्वागत गर्ने गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडा सदस्य टेकजित छन्त्यालले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *