राष्ट्रियसभालाई देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्छुः अध्यक्ष दाहाल

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण र देशको अत्यावश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने बताए ।

उनले विभिन्न पार्टीसँग आबद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए । संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने उनको भनाइ थियो ।

‘भोलिको दिनमा म आफ्नो ठाउँबाट जे उद्देश्यका साथ, जे प्रतिवद्धताका साथ र जे चाहना र भावनाका साथ मलाई यो ठाउँमा पु¥याउनुभएको छ, म त्यो काम पूरा गर्नको निम्ति तयार रहनेछु । मैले मुख्य गरेर राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने कुरा र राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व, भूमिकाहरुलाई पूरा गराउनको निम्ति म सबै दलसँग आबद्ध माननीय सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा प्रतिवद्ध छु । म त्यसमा सफल हुनसक्छु भन्नेकुरामा मलाई आत्मविश्वास पनि छ । म त्यही अनुसार अगाडि बढ्छु,’ उनले भने ।

उनले अगाडि भने, ‘संविधानमा उल्लेख भए अनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भुमिका देश र जनताको निम्ति, कार्यपालिकासँग जोडिएर गर्नुपर्ने भूमिकाहरुलाई मैले स्थापित गर्ने ढंगले, गरिमा बढाउने ढंगले मैले भूमिका पूरा गर्न कोशिस गर्छु । राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भिरताका साथ लिएर म अगाडी बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस् । राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *