राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार दाहाललाई मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा बसेको बैठकले निर्वाचित गरेको हो ।

उनको प्रतिस्पर्धीमा कांग्रेसका उम्मेदवार युवराज शर्मा थिए । दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको थियो । दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो। कांग्रेसका शर्मालाई लोसपाले समर्थन गरेको थियो ।

दाहाललाई २०७८ चैतमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गर्नुभएको थियो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद देवेन्द्र दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष उर्मिला अर्यालले कार्यकालको सफलताको कामना गरिन् । कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले प्रस्ताव गरेका थिए भने कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।

सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *