नीतिगत सुधारमा ध्यान दिनेछु : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छन्।

सोमवार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुगेकी मन्त्री चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताइन्। उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन्।

उनले सातै प्रदेशमा वृद्धका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बुबाआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन्। उनले महिला हिंसाका घटना हेर्न सबै स्थानीय तह र जिल्लामा छुट्टै महिला विभाग गठन गर्नेबारे आफू परामर्शमा रहेको पनि बताइन्।

उनले भनिन्, ‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ। त्यतातिर ध्यान दिनेछु। मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरुको लागि वृद्धाश्रम खोल्ने। आफ्नो छोराछोरीले आफ्नो कमाईको ११ प्रतिशत भाग बुबाआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु। दिनानुदिन महिला हिंसाको घटना, चेलिबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ। बालविवाह, छोरीचेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ। महिलाको नीतिमा परिमार्जन गर्ने। अनुगमन गर्ने। ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ। जसले वस्तुगत अनुगमन गरोस्। महिला हिंसाको घटना हेर्नका लागि। महिला विकास विभाग जिल्लामा अगाडि बढाउनुपर्छ भन्ने सोचेको छु।’ मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *