रुसी सेनामा भर्ना भएका आठ जना सम्पर्कविहीन, खोजीका लागि परिवारको निवेदन

भिजिट भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले आग्रह गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिइन् ।

उनले भनिन्, ‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरूको परिवारजनले निवेदन दिनुभएको छ । उहाँहरूको खोजीका लागि प्रयास गर्ने हो ।’  परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएको उनले बताइन् ।

‘रुसमा दूतावास भएको भए सहजरुपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौँ । तर, प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन । दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौँ । खोजतलासमै छौँ प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ’ , उनले भनिन् । गैरकानुनी रूपमा गएकाले पूर्णरुपमा काम गर्न सहज नभएको उनको भनाइ छ ।

आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको बताइन् । सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले जानकारी दिइन् ।

युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ । दुई/तीन महिनायतादेखि परिवारसँग नै उनीहरू सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ ।

भिजिट भिसामा अवैधानिक बाटोमार्फत गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन् । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *