मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडिरहेको छ ।

पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्त्व दिएको छ । सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पुर्‍याउन किसानलाई सहज भएको छ ।

विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झण्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो । एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्बू बताउछन् । मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेगमात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । 

मोरङको उत्तरी भेगका मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका जोडेको यो राजमार्गमा तीनवटा पालिमा मात्रै १७ पक्की पुल निर्माण भइसकेका मोरङ क्षेत्र नं १ का पूर्व सांसद घनश्याम खतिवडाले बताए ।

‘बीस वर्षअघिदेखि नै चुरे फेदीमा वैकल्पिक मार्गको आवश्यकता महसुस गरेर स्थानीय र जिल्ला विकास समितिको बजेटबाट बाटोको सामान्य ट्र्याक खोल्ने कार्य  सुरु गरेका थियौँ । पछि राष्ट्रिय गौरवको योजनाका रूपमा राजमार्ग बन्ने भएपछि उत्साहित छौँ’, उनले भने ।

दुई लेनको मदन भण्डारी राजमार्ग मेची खोलादेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट-कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला-देवीस्थान, दाङको घोराही-तुलसीपुर-पुरनधारा, सुर्खेतको बोटेचौर-बड्डीचौर, डोटीको सिमचौर-बीपीनगर, कैलालीको सहजपुर-बुडर हुँदै डडेल्धुराको रुपालसम्म पुर्‍याउने काम भइरहेको छ ।

सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ । कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई यसले छोएको छ । राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । पहिलो खण्ड सर्दु-भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक रु एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ । यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताए ।

यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ ।सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतिमा भइरहेको  छ , सोचेअनुरूप प्रगति गर्न सकिएको छैन, प्रमुख खकुरेलले भने ।

दैनिक जसो हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स-साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *