बक्यौता उठाउन दुग्ध किसान पनि सडकमा, राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारी

६ अर्बभन्दा बढी बक्यौता नपाएपछि देशभरका दुग्ध किसान सडकमा उत्रिएका छन् । बिहीबार दुध पोखेर विरोध जनाउनेदेखि राजमार्गमा चक्काजाम गर्नेसम्मका कार्यक्रम उनीहरूले गरेका छन् । भुक्तानी नपाए २१ फागुनदेखि काठमाडौं नै आएर राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारी छ ।

केन्द्रीय दुग्ध सहकारी संघले भदौदेखि बेचेको दुधको पैसा नउठेको भन्दै ७ फागुनमै विज्ञप्तिमार्फत आन्दोलनको घोषणा गरेकोमा बिहीबार किसानले राजमार्गमा दुई घण्टा धर्ना दिए । संघका महासचिव रामप्रसाद आचार्यका अनुसार बिहीबार ३५ जिल्लाका दुग्ध किसानले मुख्य राजमार्गका विभिन्न ठाउँमा आन्दोलन गरेका छन् । ‘हामीले दुध बिक्री गरेको पैसा उठाउन बाध्य भएर ३५ जिल्लाका मुख्य राजमार्गमा बिहीबार अवरोध गरेका छौँ । अधिकांश ठाउँमा शान्तिपूर्ण रूपले विरोधका कार्यक्रम सम्पन्न भएका छन्,’ उनले भने ।

दुग्ध किसानले घोषित कार्यक्रमअनुसार १४ र १५ फागुनमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । पुरानो बक्यौता नउठेको मात्रै होइन, किसानले उत्पादन गरेको दुध डिडिसीले किन्नसमेत छाडेको छ ।

यता बिहीबारको प्रदर्शनपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानलाई वार्ताका लागि अनौपचारिक आह्वान गरेको संघका महासचिव आचार्यले बताए । ‘हामीलाई अनौपचारिक रूपमा वार्ताका माध्यमबाट समस्या समाधान गरौँ भनेर सरकारी अधिकारीले सम्पर्क गर्नुभएको छ,’ उनले भने, ‘हामीले औपचारिक रूपमा आह्वान गर्नुस्, त्यसपछि सल्लाह गरौँला भनेका छौँ ।’ वार्ताबाट समाधान हुने भए आन्दोलनका कार्यक्रम रोक्न तयार भएको उनले बताए । तर, उधारो आश्वासनमा भने आन्दोलन नरोकिने चेतावनी दिए । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर