कुवेत पठाइदिने भन्दै महिलालाई श्रीलंका पुर्याएर बन्धक बनाउने एक पक्राउ
कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्याएर बन्धक बनाउने एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरो पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन् ।
मियाले २०७३ सालमा एक महिलालाई कुवेत पु¥याइदिने भन्दै भारतको रुट प्रयोग गरेर श्रीलंका लगेको ब्युरोले जनाउको छ । ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार ती पीडित महिलालाई २०७३ जेठ १५ मा सुनौली नाका हुँदै नयाँ दिल्ली र त्यहाँबाट श्रीलंकाको कोलेम्बो पु¥याइएको थियो । त्यहाँका एजेन्टले पीडितसहित अन्य महिलाहरूलाई एकै ठाउँमा ६८ दिनसम्म बन्धक बनाएका थिए । त्यसक्रममा मानसिक तथा शारिरिक यातना समेत दिएका थिए ।
त्यसको केही समयपछि उद्धार गरिएकी ती महिलाले नेपाल आएर मियाविरुद्ध उजुरी दिएकी हुन् । फरार रहेका मियालाई ब्युरोले मंगलबार पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति समेत पाएको छ ।
प्रतिक्रिया