राज्यस्रोतको दुरुपयोग : लाखौं खर्चेर डिपिआर, तर बन्दैनन् पूर्वाधार
लाखौं खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइए पनि निर्माण सुरु नहुँदा खेल पूर्वाधारका योजना अलपत्र परेका छन् । वर्षौंसम्म आयोजना कार्यान्वयन नहुँदा कतिपय डिपिआर काम नलाग्ने भएका छन् । अध्ययनबिना नै डिपिआर बनाउँदा केही आयोजनाको निर्माणस्थल परिवर्तन गर्नुपर्ने स्थिति समेत आएको देखिन्छ ।
पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणको घोषणासहित गण्डकी प्रदेश सरकारले चार वर्षअघि ‘डिपिआर’ तयार पा¥यो । उक्त रंगशालालाई सरकारले प्रदेश गौरवको आयोजनामासमेत समेट्यो । अहिले पशुपतिघाटमा रंगशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार नयाँ जग्गाको खोजीमा लागेको छ ।
२०७१ सालदेखि नै त्यस ठाउँमा रंगशाला निर्माणका लागि पहल थालिए पनि उक्त आयोजना डिपिआरमा सीमित बन्ने देखिएको छ । रेखदेख र संरक्षण नहुँदा रंगशालाको जग्गा नदी कटानको जोखिममा परेको प्रदेश खेलकुद परिषद्का सूचना अधिकारी तोपलाल भुषालले बताए ।
पशुपतिघाटमा रंगशालाको योजना दिगो हुने नदेखिएपछि निर्माण अगाडि नबढेको प्रदेशस्थित सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेती नदीले जग्गा कटान गरिरहेकाले अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउन पशुपतिघाट जोखिमपूर्ण देखिएको उनको भनाइ थियो ।
भुषालले पशुपतिघाटमा क्रिकेट रंगशालाको डिपिआर बनेपनि भौगोलिक कारणले रंगशाला निर्माण गर्न अनुपयुक्त देखिएको बताउनुभयो । रंगशालाका लागि नयाँ जग्गा खोजी र पहिचान गर्न समिति गठन गरिएको भन्दै हालसम्म ठोस प्रगति भने नभएको उनले जानकारी दिए ।
गत आवमा रू २० लाख विनियोजन भएकामा काम नभई बजेट फिर्ता भएको थियो । नयाँ जग्गा प्राप्तिका लागि चालु आवमा रू. ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
जग्गाकै कारण पोखरालाई क्रिकेटको गन्तव्य सहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउने प्रदेश सरकारको घोषणा अन्योलमा परेको छ । पशुपतिघाटमा निर्माण घोषणा गरिएको क्रिकेट रङ्गशालामा रू. एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान मन्त्रालयले गरेको थियो । विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि–२०, एक दिवसीय र टेस्ट म्याच खेल्न मिल्नेगरी पूर्वाधार तयार पारिने उल्लेख छ ।
रंगशालामा एक सय ३० भिभिआइपी सिट, एक हजार दुई भिआइपी र स्पेशल, नौ सय सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो । स्रोत जुटाएर तीन–चार वर्षभित्रमा निर्माण गर्ने प्रदेश गौरवको आयोजना ‘डिपिआर’मै थन्किएर बसेको छ ।
बागलुङको बागलुङ नगरपालिका–१ स्थित बांगेचौर खेलमैदानलाई रंगशाला बनाउने चर्चा दशकौँ अघिदेखि चल्दै आएको छ । राजनीतिक नेतृत्व तहबाटसमेत बांगेचौरलाई रंगशालाका रूपमा विकास गरिनुपर्ने आवाज उठिरहन्छ । पाँच वर्षअघि नगरपालिका र जिल्ला खेलकुद विकास समिति मिलेर रू. २५ लाख लागतमा डिपिआर तयार पारिएको थियो ।
चालिस रोपनी क्षेत्रफलमा बन्ने रङ्गशालाका लागि रू. ११ करोड लागत अनुमान गरिएको थियो । रङ्गशालामा प्यारापिट, फुटबल, टेनिसमैदान, टिकटकक्ष, शौचालय, पार्किङलगायतका संरचना बन्ने डिपिआरमा उल्लेख गरिएको छ । हालसम्म उक्त आयोजना पनि डिपिआरमा नै सिमित भएको छ ।
रंगशाला बन्ने/नबन्ने कुनै टुङ्गो नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘अहिले कतैबाट पनि बजेट परेको छैन, यस विषयमा समितिलाई कुनै जानकारी पनि आएको छैन, स्रोत सुनिश्चित नभई रंगशाला बनाउने मात्र भनेर हुँदैन,’ खड्काले भने ।
डिपिआर बनेपछि रङ्गशाला निर्माण सुरु हुने खबरले यहाँका खेलप्रेमी पनि उत्साहित भएका थिए । पाँच वर्षको निर्माण लक्ष्य पूरा भइसक्दा पनि भुइँ सम्माउने र तारजाली लगाउनेबाहेक बांगेचौरमा कुनै काम हुन नसकेको खड्काले बताए । कहिले धुलाम्मे त कहिले हिलाम्मे मैदानमा खेल प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
बागलुङ नगरपालिकाले आधारभूतस्तरको रंगशाला बनाउने भनेर बजेट विनियोजन गरेपनि कार्यान्वयन हुनसकेको छैन । रामरेखा सामुदायिक वन क्षेत्रका रुख कटानका लागि अनुमति नपाएकाले मैदान विस्तार गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने प्रदेश सरकारको पाँच वर्ष पहिलेको घोषणा पनि अलपत्र परेको छ । तालिम केन्द्रका लागि बर्सेनि प्राविधिक अध्ययन र डिपिआर निर्माणका लागि बजेट छुट्टिने गरे पनि खर्च नभई ‘फ्रिज’ भइरहेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको युवा तथा खेलकुद महाशाखाका प्रमुख खिमबहादुर भुजेलले जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको बताए । ‘रङ्गशालाका लागि चाहिने जग्गाको नापजाँच पनि भइसकेको छ । स्थानीय पालिकाले सहमति दिएको छ,’ उनले भने, ‘सं सरकारबाट जग्गाको भोगाधिकार पाएपछि खेलमैदानको प्राविधिक अध्ययन र डिपिआरको काम सुरु हुन्छ ।’
प्रतिक्रिया