उपप्रमुख सञ्जालको सातौँ बैठक : संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्न माग गरेको छ ।

यसका लागि सञ्जालको आकस्मिक बैठक यही हप्ता काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ । प्रस्तावित सो संशोधन विधेयकमा सञ्जालले एउटै धारणासहित सुझाव मन्त्रालयलाई पठाउने तयारी गरेको जनाइएको छ ।

सञ्जालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयक सबै पालिकामा समेत नपुगेको जनाउँदै तत्काल पुर्याउन मन्त्रालयसँग माग गरेको छ । सोमबार चन्द्रागिरि नगरपालिकाको आतिथ्यतामा बसेका सञ्जालको सातौँ बैठकले सञ्जालका लागि आफ्नै लोगो स्वीकृत गरी प्रयोगमा ल्याउने निर्णय गरेको छ । सञ्जालको अर्को आठौँ बैठकको आतिथ्यता मध्यपुरथिमि नगरपालिकाले गर्ने निर्णय गरिएको छ । सञ्जालको छैटौँ बैठक महाँकाल गाउँपालिकाले आयोजना गरेको थियो ।

बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजस्व, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा साझा एकीकृत ढङ्गले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि अन्तर नगरपालिका बीचमा थप सहकार्य र समन्वय हुनुपर्छ भने ।  काठमाडौँ उपत्यका मेयर फोरमका महासचिव गिरीले यही फागुन १८ गते फोरमको बैठक बस्ने र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकमाथि सुझाव दिने जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्न माग गर्दै संशोधन विधेयकसमेत महानगरपालिकामा प्राप्त नभएको गुनासो गरे । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले कुन– कुन क्षेत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्ने भन्ने विषयमा एकीकृत धारणा बनाउन सञ्जालको थप बैठक आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर