५ दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर स्तरोन्नती गरिदै
नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो वर्षायाम सकिएसँगै अन्तर्राष्ट्रिय उडान नै बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा बिस्तारको काम गर्नुपर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को जारी प्रावधानअनुसार काठमाडौं विमानस्थल सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा वायुसेवा कम्पनीहरूलाई छलफलमा राखेर यसबारे जानकारी गराएको हो ।
यसपछि काठमाडौं विमानस्थलको निर्माण क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ । यसपछि उडान बन्द गर्नुअघि पाइलटहरूका लागि जारी गरिने सूचना नोटाम (नोटीस टु एयरमिन) निकाल्नुपर्छ ।
हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले आयोजनाले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरूलाई अन्तिम समयमा दिइने जानकारीले व्यवस्थापकीय संकट आइपर्न सक्ने भएकाले पहिलो चरणको छलफल गरेर जानकारी दिएको हो । आयोजनाकाअनुसार वायुसेवा कम्पनीहरूले मनसुनका बेला ११ बजेदेखि ४ बजेसम्म हुने उडान निर्माण नसकिएसम्म कटौती गर्नुपर्ने वा बिहान सार्नुपर्ने हुन्छ ।
प्राधिकरणले काठमाडौं विमानस्थलको वार्षिक कम्तीमा १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ यता गुरुयोजनाअनुसार भौतिक पूर्वाधार निर्माण तथा विस्तारका काम गर्दै आइरहेको छ ।
अहिले त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ वटा मात्रै अन्तर्राष्ट्रिय उडानतर्फका जेट विमान एप्रोनमा पार्किङ हुन्छ । गुरुयोजना अनुसार सबै काम सम्पन्न भए १६ वटा न्यारोबडी विमान एप्रोनमा यात्रुलाई सेवा दिन सक्ने क्षमताको हुने छ । अहिले ३ किलोमिटर धावनमार्गको दक्षिण र उत्तरमा रहेका दुवै विन्दुलाई जोड्ने ट्याक्सी–वे छैन । अबको डेढ वर्षभित्र भने यी दुवै विन्दुसम्म ट्याक्सी–वे जोडिँदै छ । दुवै विन्दुबाट जहाज पस्न र निस्किन ‘इन्ड–टु–इन्ड ट्याक्सी–वे’ निर्माण भएसँगै धावनमार्गको क्षमता थप वृद्धि हुने छ । ‘गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो जहाज पार्किङ अभावले सिमरामाथिको आकासमा जहाज होल्ड गराउनुपर्ने, साना जहाजलाई काठमाडौं बाहिरका विमानस्थलमै होल्ड गराउनुपर्ने समस्या निराकरण हुने छ,’ आयोजना प्रमुख इन्जिनियर श्रेष्ठले भने ।
नेपालमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल नभएकाले ५ वर्षअघि पनि चिनियाँ ठेक्दार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिर्णोद्वार गर्दा राति १० देखि बिहान ८ बजेसम्म उडान बन्द गरिएको थियो । यसपटक भने काठमाडौंमा उडान रोक्नुपर्ने अवस्था आइपरेमा भैरहवा र पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिने भएकाले निर्माणका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तीन मिटर गहिरो खाल्डो खनेर २०/२५ तहमा माटो पुर्ने काम गर्दा उडान सुरक्षाका कारण विमानस्थल नै बन्द गरेर काम गरिने इन्जिनियरहरूको भनाइ छ ।आजको कान्तिपूर दैनिकमा समाचार छ ।
😞mero 12 gate day 3 ko flight xa