रुसी सेनामा मारिएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति उपलब्ध गराउन रुस तयार

आफ्नो सेनामा भर्ती भएर मारिएका नेपाली नागरिकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपालमै पठाउन रुस सरकार तयार भएको छ। यसअघि रुसले क्षतिपूर्ति बुझ्न मृतक परिवार रुस पुग्नुपर्ने सर्त अघि सारिरहेको थियो। मस्कोस्थित नेपाली राजदूतावासको निरन्तर संवादपछि क्षतिपूर्ति रकम नेपाल पठाउन तयार भएको स्रोतले बतायो।

‘हामीले रसियन विदेश मन्त्रालय र रक्षा मन्त्रालयसँग निरन्तर संवाद गरिरह्यौं। हाम्रा नागरिक नेपालबाट पैसा मात्र लिन कसरी आउँछन्? निकै गाह्रो विषय हो भनेर दबाब दिएपछि हाम्रो कन्सुलरले गरिरहेको अभ्यासअनुसार क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ,’ परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले भने, ‘अहिले रुसी विदेश मन्त्रालयको पत्र नेपाल आइसकेको छ। जसअनुसार अब मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति प्राप्त हुने आशा जागेको छ।’

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्ने/मारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ। ‘त्यसरी नेपाल भित्र्याइएको क्षतिपूर्ति कन्सुलर सेवा विभागले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत मृतक परिवारलाई दिने अभ्यास छ,’ विभागका एकजना अधिकारीले भने, ‘रुससँग पनि हाम्रो यही प्रस्ताव सुरुदेखि थियो। तर उसले मानेको थिएन। अहिले यसैमा राजी भएको छ।’

रुसी सेनामा नेपाली नागरिक भर्ती भएर रुस–युक्रेन युद्धमा मारिन थालेको खबरसँगै कन्सुलर विभागले काम थालेको विभाग स्रोत बताउँछ तर सुरुमा क्षतिपूर्तिका विषयमा रुस सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन। यद्यपि उसले मृतक परिवारलाई पाँच मिलियन रुबल (झन्डै ७५ लाख नेपाली रुपैयाँ) दिने कानुन बनाएको थियो । नेपाली राजदूतावासले लगातार संवाद गरेपछि माघको पहिलो साता मृतक नेपाली नागरिकका परिवारलाई आफ्नो कानुनअनुसार क्षतिपूर्ति दिने जवाफ दिएको थियो।

तर, त्यसका लागि मृतकका परिवार आफैं रुस पुगेर क्षतिपूर्ति बुझेर फर्किनुपर्ने सर्त अघि सारिरहेको बताइन्छ। ‘क्षतिपूर्तिका विषयमा हाम्रो प्रयास सुरुदेखि नै हाम्रो कन्सुलर अभ्यासअनुसार दूतावासमार्फत नेपालमै उपलब्ध गराउने भन्ने थियो। यसपटक सहमति जनाएको पत्र प्राप्त भएको छ,’ मन्त्रालयस्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर