कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ। यी जहाज कवाडीको मूल्यमा पनि बिक्री नहुने अवस्था आएको छ।

निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाज ‘जेजस्तो अवस्थामा छन्’ लाई सकार्न गत पुस ५ गते लिलामीको सूचना निकालेको थियो। यी जहाज सकार्न माघ २१ सम्म कुनै कम्पनीले पनि प्रस्ताव नराखेपछि पुनः फागुन ९ सम्ममा व्यक्ति वा संस्थाले टेन्डर बुझाउन सक्ने गरी सूचना प्रकाशन गरिएको हो।

अर्थ मन्त्रालयको स्वीकृतिपछि निगमले ती जहाज बेच्न दोस्रो पटक अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरेको थियो। निगमले अघिल्लो पटकको प्रयासमा ती जहाज नबिकेपछि दोस्रोपटक पुस ५ गते लिलाममा राखेको थियो। ती जहाज करिब साढे तीन वर्षदेखि त्रिभुवन विमानस्थलमा ‘ग्राउन्डेड’ छन्।

यी जहाज १३ वर्षअघि चीनबाट ल्याइएका हुन। निगम सञ्चालक समितिले यी जहाजको सञ्चालन खर्च धान्न धौ–धौ परेको भन्दै २०७७ साउन १५ गतेदेखि ग्राउन्डेड गरेको थियो। यी जहाज ग्राउन्डेड भए पनि निगमले यिनको बिमा र पार्किङ शुल्क नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भुक्तानी गर्दै आएको छ।

लामो समयसम्म उडान नगरी राखिएका कारण यी जहाज कवाडीको भाउमा पनि बिक्री नहुने अवस्था आएको हो। ग्लोबल टेन्डर गर्दा आफूले बोलकबोल गरेको रकमको १० प्रतिशत धरौटीबापत बुझाउनुपर्ने भएका कारण कतैबाट पनि टेन्डर नपरेको निगम स्रोतको भनाइ छ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर