पुर्व डिआईजी जोशीको घरमा प्रहरीको छापा

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको हो ।

‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सम्पूर्ण कारोबार काठमाडौंबाटै हुने गरेको रहेछ । त्यसको सफ्टवेयरसमेत यहीं रहेछ, पोखरामा कार्यालय र केही सामान्य कागजात मात्रै रहेछन्,’ प्रहरी अधिकारीहरूले भने, ‘यहाँ रहेका विवरण तथा सफ्टवेयरहरू नियन्त्रणमा लिइदिनू भनेर कास्की प्रहरीले अनुरोध गरेको थियो । केही विवरण नियन्त्रणमा लिएका छौं ।

गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा शेयर कायम हुँदा ५० प्रतिशत शेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत शेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत शेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त शेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी रवि बाहिरिएका हुन् ।

पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *