सन्दीप लामिछानेविरुद्ध बालिकामाथि पटकपटक बलात्कार गरेको आरोपमा उजुरी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिकामाथि बलात्कार गरेको अभियोगमा उजुरी परेको छ। भदौ ५ गते राति काठमाडौं र भक्तपुरका विभिन्न स्थानहरूमा लगेर सन्दीपले १७ वर्षकी ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा मंगलबार उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौंले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

‘…सन्दीप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौं ल्याई रातको अं. २:५५ बजे का.जि.का.म.न.पा.–९ स्थित एक होटलको कोठा नं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अं. ००:२५ बजे पटकपटक जबरजस्ती करणी गरेकोलगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको,’ प्रहरीले विज्ञप्तिमा भनेको छ।

प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता गरी पीडित बालिकालाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गराइएको बताएकाे छ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सन्दीप भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए।

उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर