जयदेव गौतमको ‘ती निला आँखा’ लोकार्पित
वर्तमान कर्णाली प्रदेशको दैलेख दुल्लु क्षेत्रको लम्जीमा पिता ज्योतिषी पण्डित हरिप्रसाद उपाध्याय र माता मानकुमारी उपाध्यायका सुपुत्रका रूपमा जन्मिएका प्रा.जगत उपाध्याय ‘प्रेक्षितको २०७९ सालमा समय र जीवन’ नामक निबन्धसङ्ग्रह प्रकाशित भएको छ।
प्राध्यापन पेसामा रहेर अध्ययन/अनुसन्धानमा संलग्न प्रेक्षितले मुलुकका महत्त्वपूर्ण प्रशासनिक पदमा रहेर समेत आफ्नो सक्षमता र कुशलताको सफल प्रयोग गरेका छन्। उनका साहित्यिक सिर्जनातर्फ हालसम्म ‘आकुञ्चन’ (संयुक्त कवितासंग्रह, २०५१), ‘ज्वाला’ (खण्डकाव्य, २०५४) समयका छालहरू (कवितासंग्रह, २०६०), ‘हिमाल हेर्न जाऔं’ (बालकवितासंग्रह, २०६५), ‘सेता हाँस र मुसाहरू’ (सचित्र बालकथा (२०६१), ‘म, माटो र मुटु’ (कवितासंग्रह, २०७५) ‘आरम्भ’ (हाइकुसंग्रह, २०७५) तथा ‘आहा! कति राम्रो मेरो घर’ (बालकाव्य २०७९) प्रकाशित छन्।
यसका साथै ‘काव्य-परिशीलन’ ‘केही’ आलोचनात्मक भूमिकाहरू (समालोचना २०७५) प्रकाशित भएको देखिन्छ। यसका साथै अन्य केही अनुसन्धानात्मक कृतिहरू र फुटकर रचनाहरू प्रकाशित छन्।
प्रस्तुत समीक्षात्मक ‘समय र जीवन’ निबन्धसङ्ग्रहमा चौध निबन्ध छन्। लेखकले यस कृतिमा निबन्धको रूप र अन्तर्वस्तुलाई राम्ररी संयोजन गरेको पाइन्छ।
यस निबन्धसङ्ग्रहमा रहेको पहिलो शीर्षक ‘समय र जीवन’ मा समयले जीवनमा पार्ने प्रभाव, जीवनका अनेकौं घुम्तीमा समयको पदचाप पछ्याउँदै अगाडि बढेको सन्दर्भ, इतिहासका कालखण्डमा विभिन्न विद्वान्, विदुषीले समय र जीवन दर्शनबारे दिएका विचारहरू, समय र जीवनको परिभाषालाई छुट्टाछुट्टै र एकै ठाउँमा मिसाएर केलाइएका सन्दर्भहरू समेटिएका छन्।
निबन्धकारले समयको बहारसँगै स्वाभिमान र गौरवपूर्ण किसिमले जीवन भोगेको सन्दर्भ, समयको गतिशीलतासँगै जीवनको लय समाएको सन्दर्भ, महासागररूपी समयमा जीवनको छालले दिलाउने पहिचानसँगै समयका हरेक क्षणलाई पक्रिदै निराशाबाट आशामा, बिस्मातबाट हर्षमा, असफलताबाट सफलतामा र मृत्युबाट जीवनमा परिणत हुने प्रयत्नमा लागिरहेको अभिलाषालाई अत्यन्त सूक्ष्म किसिमले प्रस्तुत गरेको देखिन्छ।
दोस्रो शीर्षक ‘सद्भावको संस्कृति’ मा अहिलेको वर्तमान स्थितिमा बढ्दै गएको हिंसा, हत्या, आतङ्क, चोरी, लुट, बलात्कार जस्ता घटनाहरूका समाचारलाई नियाल्दै सांस्कृतिक सद्भाव हराउँदै गएकोमा दुःख पोखिएको छ।
हामीले गरेका परिवर्तनले जातियता र वर्गीयताको नाममा विखण्डन बढाउँदै गएमा यदुवंशीझैं विनाश निम्तिन कतिबेर नलाग्ने ठानी निराशा पोखिएको छ। प्रजातन्त्र प्राप्तिमा अर्थात् लोकतन्त्र प्राप्तिमा गरिएका जनताका सङ्घर्षसँगै हामीले लिएका आशा अहिले निराशामा बद्लिंदै गएको अवस्थालाई चित्रण गरिएको छ।
यसैगरी समयक्रमसँगै हाम्रा चेतनाहरू हराउँदै गएकोमा दुःख व्यक्त गरिएको छ। शासकहरूको अहिलेको शैली हेर्दा र स्वाभिमान धरायसी भएको देख्दा सदभाव खुम्चिएर मन निमोठिएको कुरा प्रकट गरिएको छ। संसारकै जेठो वैदिक सभ्यता बोकेर अपार संस्कृतिका धनी हुँदा पनि कर्मशीलता हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ।
निबन्धमा आफ्नो परम्पराभन्दा मगन्ते संस्कृतिलाई प्रश्रय दिंदै गएको सन्दर्भमा आफू र आफ्नो देशको संस्कृतिलाई बढी महत्त्व दिनुपर्ने कुरा उल्लेख छ। साथै हरेक मानव मनमा प्रेम र विश्वास उमारेर समृद्धिको यात्रामा अगाडि बढ्न र देश प्रेमको उपयुक्त चाहना बोकेर नेपाललाई चिनाउन उद्दत हुनुपर्ने कुरा उल्लेख छ।
तेस्रो शीर्षक ‘सम्बन्धहीन सम्बन्धहरू’ मा जीवनका अनेकौं आयाममा रहने सम्बन्धहरूमा हुने आत्मियता, हार्दिकता, असल, खराब, घातप्रतिघातलाई उदाहरण सहित मन छुने गरी पस्किएको देखिन्छ।
निबन्ध लेखनको क्रम बढाउँदै लैजाँदा लेखकले चाणक्य, शङकर लामिछाने, अम्ब्राहम लिङकनका प्रेरक प्रसङ्गका साथै पञ्चतन्त्र र चिनिया लोकोक्तिहरूलाई समेत सम्झिएका छन्।
चौथो शीर्षक ‘आफू त सोझो मान्छे’ मा निबन्धकारले विश्वप्रसिद्ध अङ्ग्रेजी नाटककार सेक्सपियरको भनाइ ‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर लाई स्मरण गर्दै संस्कारमा, हृदयका भावनाहरूमा, दैनिक व्यवहारमा सोझो बन्नुपर्ने अभिप्रायलाई व्यङ्गात्मक र प्रभावकारी किसिमले प्रस्तुत गरेको पाइन्छ।
पाँचौ ‘शिक्षा र जीवन’ शीर्षकमा निबन्धकारले मानवजीवनको ज्योति फैलाउने काममा शिक्षालाई प्रमुख रूपमा लिएका छन्। आधुनिक शिक्षा प्रणालीमा कुनै परीक्षा उत्तीर्ण गरेर उपाधि लिंदैमा शिक्षित हुने नभई वास्तविक रूपमा चरित्रमा, चिन्तनमा, विधि व्यवहार र संस्कारमा परिवर्तन गर्दै आफ्नो मात्र नभई अरूको जीवनलाई समेत सार्थक बनाउन भूमिका खेल्ने व्यक्ति साँच्चिकै शिक्षित हुन्छ भन्दै शिक्षाको सार्थकतालाई सही ढङ्गबाट प्रस्तुत गरिएको छ।
छैंटौं ‘कृतज्ञता’ मा विभिन्न प्रसङ्गहरूलाई रोमाञ्चक किसिमले जोड्दै कृतज्ञता र कृतघ्नताको अन्तरलाई प्रष्टसँग औंल्याइएको छ।
केही स्वार्थी सञ्जालले आफ्ना समाजका व्यक्तिहरूलाई अप्ठ्यारो परेको अवस्थामा गरेको सहयोगलाई समेत प्रश्नवाचक आँखाले हेर्ने गरेकोमा उनलाई एकातर्फ खेद लागेको छ भने अर्कोतर्फ समाजमा सित्तैमा अरूको काम नगर्ने प्रवृत्ति बढ्दै गएकोले उनीहरूले यस्तो दृष्टिकोण राख्नु पनि जायजै पो हो कि जस्तो भान परेको पनि देखिन्छ।
सातौं ‘को चोर? को साधु’ मा निबन्धकारले हाम्रा समाजमै रहेका उच्च वर्गदेखि निम्न वर्गसम्मका चोर र साधु प्रवृत्तिलाई छर्लङ्ग हुने गरी प्रस्तुत गरेको देखिन्छ। पाठकले पनि यो निबन्ध पढ्दै जाँदा आफू कुन वर्गमा पर्छु भनेर प्रष्ट रूपमा थाहा पाउन सक्छ। यसर्थ पाठकहरूलाई यो निबन्ध घतलाग्दो र रोचक लाग्न सक्छ।
आठौं ‘किन मक्किदै छन् आस्थाहरू’ मा निबन्धकारले अहिलेको राजनीतिक, प्रशासनिक, सामाजिक, शैक्षिक, आर्थिक, साहित्यिक आदि क्षेत्रमा क्रमशः हराउँदै गएको स्वाभिमान देखेर आस्था भास्सिएको महसुस गरेका छन्।
यसले गर्दा किन हाम्रा आस्था मक्किदै छन्? किन कुनै पनि विषयका क्षेत्रमा हृदयदेखि अखण्ड विश्वास र सम्मान जगाउन सकिएको छैन भनेर प्रश्न गरिएको छ।
नवौं ‘सुनका गहना’ मा पौराणिक कालमा हिरण्यगर्भको समयदेखि नै महत्त्वमा रहेको सुनको मायावी र वास्तविक चमत्कारका बिचमा विभिन्न रोचक प्रसङ्ग जोड्दै असली जीवनमा सुनको सट्टा चेतनाको चमक खोज्नुपर्ने मत प्रकट गरिएको छ। यो निबन्ध प्रत्येक आडम्बरको संस्कार थाम्ने निहुँमा सुन मोहप्रति आकर्षित हुने वर्ग र व्यक्तिले पढ्दा विशेष चेतना खुल्ने छ भन्ने लाग्छ।
दशौं ‘जीवनको मोल’ मा अन्य प्राणीभन्दा सर्वथा पृथक, मौलिक र विशिष्ट गुण रहेको मानिसको जीवनको मूल्य तोक्नु किमार्थ स्वीकृति योग्य हुँदैन भन्ने मत प्रकट गरिएको छ। यसमा विभिन्न उदाहरण प्रस्तुत गर्दै जीवनको मूल्य अनमोल रहेको भाव व्यक्त गरिएको छ।
एघारौं ‘कोरोनासँग पौठेजोरी’ मा कोरोनाको विश्वव्यापी रूपमा फैलिएको महामारी र त्यसले निम्त्याएको सङ्कटलाई विवरणात्मक किसिमले प्रस्तुत गरिएको छ। कोरोनाको मारले थलिएको समाजलाई उठाउन थप ऊर्जाशील, कर्मशील हुँदै सबै मिलेर सचेत हुँदै सामना गर्नुपर्ने भावना पोखिएको छ।
बाह्रौं ‘म वाद! जिन्दावाद’ मा स्वाभिमानलाई कुल्चिएरै भए पनि मौलाउँदै गएको मपाइँत्वको म वादलाई व्यंग्यात्मक किसिमले प्रस्तुत गरिएको छ। म वादले समाजमा षड्यन्त्रको जालो बुन्दै सबैलाई पञ्जामा पार्दै गएकोमा निराशा व्यक्त गरिएको छ।
तेह्रौं ‘अभाव’ शीर्षकमा निबन्धकारले घतलाग्दो पारामा भाव र अभावको अन्तर केलाएका छन्। अभावसँग नडराई यो त जीवनको शाश्वत पर्याय हो भनी स्वीकार्दै सामना गर्नु नै उपयुक्त हुने हुँदा आत्मसात गर्न उपयुक्त सुझाव पनि दिइएको छ।
चौधौं ‘भाव नफुरेपछि’ मा सर्जक सिर्जना यात्रामा अर्थात् लेखकीय यात्रामा घोरिंदा भाव नफुरेको पल उल्लेख गरिएको छ। यसका साथै आफ्ना दैनिक जीवनका प्रसङ्गहरूलाई भने राम्ररी समेटेर प्रभावकारी किसिमले प्रस्तुत गरेको देखिन्छ।
निबन्धकारले यथार्थ जीवन भोगाइका लागि लेखनी समाउनेहरूले विभिन्न बाहनामा अम्मलको सहारा लिएर लेख्नु गतिलो काम नहुने कुरा उल्लेख गरेका छन्। बरू त निरन्तर अध्यन साधना गरेर घोत्लिदै गहिरो गरी प्रस्तुत विषयप्रति संयम भएर अगाडि बढ्नु श्रेयस्कर हुने सन्देश व्यक्त गरिएको छ।
प्रस्तुत पुस्तकका चौध निबन्धलाई पाठकीय हिसाबले सर्सती अध्ययन गर्दा निबन्धकारले जीवनका व्यावहारिक परिवेशहरूलाई नजिकबाट नियालेको पाउन सकिन्छ। जीवनका यस्ता विषयवस्तुलाई अत्यन्त गहिरो किसिमले छामेर आफ्ना निजात्मक अनुभूतिमार्फत सहज रूपमा पर्गेल्ने कोसिस निबन्धकारले गरेको देखिन्छ।
यस ‘समय र जीवनमा’ घोत्लिंदा कृतिमा भाषिक स्पष्टता, विषयवस्तुको निखरता, विभिन्न कालखण्डमा भेटिएका ऐतिहासिक व्यक्तिहरू, दार्शनिकहरूका प्रेरक प्रसङ्गहरू, प्रचलित महत्त्वपूर्ण लोकोक्तिहरू र आफ्ना अनुभूतिहरूलाई स्पष्ट रूपमा सिलसिला मिलाएर उतारेको पाइन्छ।
निबन्धहरूलाई जीवन्तता प्रदान गर्न नेपालीको मर्म र दर्द पक्रिएर उक्त मर्म र दर्दहरू मेटाउन, देशलाई हराभरा बनाउन र सुखशान्ति ल्याउन सबै मिलेर कठिन परिश्रम गर्न प्रतिबद्धता जाहेर गर्नुपर्ने कुराहरूलाई दह्रो गरी उठाइएको छ।
प्रस्तुत सङ्ग्रहमा राजनैतिक, आर्थिक, शैक्षिक, सामाजिक क्षेत्रका साथै अन्य विभिन्न विषयसम्बन्धी चेतनाका सन्दर्भमा लैङ्गिक, जातीय, पर्यावरणीय आदि आजका विश्वजनीय प्रमुख मुद्धाहरूलाई समेत उभ्याएर सूक्ष्म किसिमले व्याख्याविश्लेषण गरिएको छ।
हाल देखिएको समाजका विभिन्न क्षेत्रमा स्वार्थको सङ्कीर्ण घेरा र उक्त घेरामा मानिस फस्दै गएको नग्न तस्बिरलाई समेत केलाइएको छ। विविध किसिमले उत्पन्न समस्याबाट उन्मुक्ति पाउन मानिसमा मानवीयता, प्रेम, न्याय, समानता, विवेक जस्ता कुराहरू अपरिहार्य ठानिएका छन्। यसले गर्दा प्रस्तुत निबन्धहरूमा निबन्धकारले नयाँ पन दिइएको आभाष पाउन सकिन्छ। प्रस्तुत नयाँपन नै निबन्धकारको निजत्व हो।
यसरी नयाँ शैलीमा दिएर लेखिएका निबन्धहरू सबै वर्ग र तहका पाठकहरूका लागि पठनीय र सोचनीय छन् भन्ने लाग्छ। नयाँपन र शैली लिएर आएका प्रेक्षितका निबन्धहरूलाई विद्यालय/क्याम्पस तहमा समेत पठनपाठनका लागि सिफारिस गर्ने हो भने पक्कै यथार्थपरक सुन्दर विचार, असल कर्म र विवेकपूर्ण व्यवहार सिकाउने पूर्ण परिस्थिति सिर्जना हुन्छ भन्ने मैले ठानेकी छु।
प्रेक्षितसँग सङगत गर्नेहरूलाई निबन्धहरू पढ्दा उनको लेखाइ र गराइमा खासै फरक नभएको अनुभूति हुन सक्छ। यसले गर्दा समग्रमा उनका निबन्धहरू व्यवहारमूलक देखिन्छन्।
निबन्ध अध्ययन गर्दै जाँदा कहीँकहीँ छपाइका कारण भएका न्यून त्रुटिबाहेक खासै कमजोरी भेट्न सकिंदैन। यस अर्थमा निबन्धकारको कलम अत्यन्त सचेत देखिन्छ। भाषा, शिल्प र विचारका हिसाबले निबन्धहरू सरल, सरस र मौलिक हुनुका साथै विचारका दृष्टिले गहन देखिन्छन्। प्रस्तुत निबन्धहरू देशको आवश्यकता, समय सान्दर्भिकता, कर्मठ व्यक्तिको अपेक्षा र न्यायोचित सुधारका लागि प्रेरणादायी मान्न सकिन्छ।
प्रतिक्रिया