‘आँशुले धानेको देश’ (फोटोफिचर)

विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजिमा विदेश भौंतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन । नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरुको संख्या ठूलो छ । धेरैजसो नेपालीहरु स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् । कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा विदेशिन बाध्य छन् । यसको ज्वलन्त उदाहरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरुको क्रन्दन र रोदन हेरे र सुने पुग्छ ।

आफ्नो परिवारलाई राम्रो, खुशी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर विदेशिएका कतिपय नेपालीहरु त उतै अस्ताउँछन् । त्यतिमात्रै होइन, शव ल्याउन पनि लाशमाथिको राजनीति शुरु हुन्छ । सीप सिकेर गएकाहरुले केही काम गर्नसक्छन् । तर सीप सिकेर विदेश नगएकाहरु कामै नपाउँदा समेत स्वदेश फर्किन चाहेर पनि सक्दैनन् । यता साहुको ऋणमाथि ऋण थपिएको बोझले कतिपय गलत काम गर्न बाध्य हुन्छन् । यस्ता धेरै उदाहरण र भोगिसकेका घटना हाम्रै देश र समाजका हुन् । यी तीतो यथार्थलाई कहिल्यै नजिकबाट नियाल्न नसक्ने नेतृत्वहरु अझैपनि स्वदेशमै रोजगारी दिन्छौँ भन्न लाज मान्दैनन् । बोली पूरा गर्न त परको कुरा बोलेको दुई दिनमै बिर्सिहाल्ने बानी नेतृत्व वर्गमै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ ।

देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मल्हमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ । त्यसैले नै होला भोलिका भविष्यहरु आज आफ्नो आँशु झारेर भएपनि आफ्नो भविष्य सुरक्षित राख्न विदेशिएका छन् । परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एकपटक रुवाएर र आफू रोएर भएपनि विदेश जाँदैछन् । किन पनि भने भोलिका यो देशका भविष्यहरु आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् । नेताहरु नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै राजगारी दिनेकुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् ।

चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *