नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने

नेपालको सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एण्ड एक्सन फर रूरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् ।

यस अध्ययनलाई नेपालस्थित स्विस दूतावासले आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्सन फर रूरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ । यस अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरी गर्न सकिन्छ भन्नेबारे प्राविधिक परीक्षण गर्नेछ ।

कार्यक्रममा नेपाल खानी ताथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट प्रोडक्सनलाई अगाडि बढाउने नतिजा दिने बताए ।

उनले नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर र अरू ३० प्रतिशत क्ले राखेर यसलाई क्याल्साइन बनाई नयाँ मिश्रण बनाइने उल्लेख गरे । फेरि यसमा जिप्सम मिसाएर अरू १५ प्रतिशत लोग्रेट ल्यामुसन मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने बताए । यसलाई नै एलसी थ्री सिमेन्ट भनिने उनले बताए ।

यसमार्फत नेपालको माटो र क्लिंकरको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने बताए । एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताए ।

नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्न सके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुने बताए । यसले वातावारणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ । एलसी थ्री सिमेन्टमा ५० प्रतिशत क्लिंकर, १५ प्रतिशत गैरसिमेन्ट ग्रेडको चुनढुंगा, ३० प्रतिशत क्याल्साइन गरिएको माटो (गैरसिरेमिक ग्रेड) र ५ प्रतिशत जिप्सम हुन्छ । यो सिमेन्ट उत्पादनमा ४० प्रतिशतभन्दा बढी कार्बन उत्सर्जन घटाउन सक्छ । यो प्रविधि भारत र अन्य २९ देशमा अपनाइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर