सर्लाही जिल्ला अदालतमा पेस गरिए रामबहादुर बम्जन

मंगलबार राति काठमाडौंबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बम्जनलाई सडकमार्ग हुँदै गएराति झण्डै २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको थियो । प्रहरी हिरासतबाट उनलाई अदालत लगिएको हो ।

जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरू भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

बम्जनलाई हवाईमार्गबाट जनकपुर हुँदै सर्लाही लैजाने तयारी सीआईबीले गरे पनि जनकपुरको मौसम खराब भएपछि उनलाई गाडीमा राखेर सर्लाही लगिएको थियो ।

बम्जनविरूद्ध २१ असार २०७७ मा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

बम्जनविरूद्ध अनुयायी बेपत्ता पारेको, हत्या, यौन हिंसाको आरोप छ ।

बाराको निजगढ नगरपालिका-१२, रतनपुरी स्थायी घर भएका उनीविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी निरन्तर फरार थिए ।

बम्जन सर्लाहीको लालबन्दी नगरपालिका-१२, पत्थरकोट (चुरे क्षेत्र) मा आश्रम बनाएर केही वर्ष बसेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *