रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रूपैयाँभन्दा बढी नगद बरामद
बाल यौनदुराचारको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रूपैयाँ बरामद गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
नेपाल प्रहरीले २०७६ सालमा नै सर्लाहीमा एक नाबालिकामाथि यौनदुराचार गरेको अभियोग लागेका बम्जनलाई खोजी गर्दै आएकोमा मंगलबार बेलुका उनको काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरेको थियो ।
थप अनुसन्धानका क्रममा उनको घरबाट ठूलो धनराशि बरामद गरिएको पनि सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार बरामद गरिएका नगद राशिमध्ये १७ देशका विभिन्न मुद्राहरू रहेको र त्यसको नेपाली रकम ३० लाख ९२ हजार ४०६ रूपैयाँ हुन्छ ।
त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाइल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।
ब्यूरोले आज पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उनीमाथि आफ्ना चेलाहरूको हत्या गरेको आरोप पनि लगाइएको छ ।
त्यसैगरी बम्जनको घरबाट बरामद भएको १७ देशको विदेशी मुद्रासहितको ठूलो धनराशिबारे पनि थप अनुसन्धान गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउने सीआईबीले जनाएको छ ।
प्रतिक्रिया