कानुन समितिको बैठक बस्दै, नेपाल र भारतबिचका सम्झौताबारे प्रधानमन्त्रीले जानकारी दिने

सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।

गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।

त्यसबारे समिति र सांसदहरूको चासोमा प्रधानमन्त्री दाहाल आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । विदेशमन्त्री जयशंकरको भ्रमणका क्रममा नेपाल र भारतबिच विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो भने सरकारले भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको परियोजना सीधै समुदायमा गएर सञ्चालन गर्न सक्ने सम्झौतामा समेत सहमति गरेको थियो ।

बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *