सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाउँदै

नेपाली सेनाको अगुवाइमा यो वर्ष ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ ।

नेपाली सेनाले भोलि शनिबार गोरखा दरबारबाट श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको फौजले नेपाल एकीकरणको दौरान प्रयोग गरेको मार्ग हुँदै पदयात्रा गर्दै छ । पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ आइ नगर परिक्रमापछि पुस २७ गते जङ्गी अड्डामा आयोजना गरिने विशेष कार्यक्रमका बिच श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा सलामी अर्पणपछि समापन हुने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाका आरम्भकालीन पाँच कम्पनी श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी र सबुजको झण्डा तथा दीपज्योतिसहित ऐतिहासिक सैनिक पोसाक लगाएर र परम्परागत बाजा बजाउने छ ।

राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचन, लघु नाटक प्रदर्शन, कविता प्रतियोगिता आयोजना गरिने छ । यसैगरी देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न एकाइमा पनि विविध कार्यक्रम आयोजना गरिने उक्त निर्देशनालयले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *