यसरी पल्टिन्छ खुदो !

कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ रु नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका– ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन् । मालेपाटन र ढोडबेसीँका करिव ८० परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्छन् । पुस पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन पनि छ ।

अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बीउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । ५ घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन् । दुई ठाउँमा गरेर करिव २ सय रोपनीमा उखु खेती हुँदै आएको छ । सिँचाइको सुविधा नभएकाले यस क्षेत्रका बासिन्दाले उखु खेती गर्न थालेको र उखु खेतीकै कारण गाँउको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाइ छ । पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाँउबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । उनले पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताए ।

यो वर्ष गाँउबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन् । तर गाँउका युवाको विदेश मोह र झन्झटीलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरु बड्दै गएको स्थानीय बताउँछन् । स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरु धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएको बताए । उहाँले सरकारले कुनै राहत नदिएको गुनासो गरे ।

उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरुलाई चिन्ता भने छैन । घरगाउँमा एकाध गाँज उखु भएपनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन । मालेपाटन र ढोडबेसीँमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर