राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्य्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ ।

रघुगङ्गा गाउँपालिका-४, दग्नाम र वडा नं. ५, झिँको फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो।

दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला बगाइएको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले जानकारी दिए।

‘अण्डर सुलुस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन थालिएको हो,’ उनले भने, ‘३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुगेको छ।’

नदी फर्काउने काम जलविद्युत् आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा र फड्को भएको विष्टले बताए।

राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरू गर्ने कार्ययोजनासहित काम भइरहेको छ।

विसं २०७४ मंसिरमा ६ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोसिएट्सले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। आयोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति भएको छ।

सुरूङ ९० प्रतिशत र विद्युतगृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ। ६ किलोमिटर २ सय मिटर सुरूङमध्ये पाच किलोमिटर पाँच सय ९८ मिटर सुरुङ निर्माण सकिएको जयप्रकाश एसोसिएट्सका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए।

अब ६ सय दुई मिटर मात्र सुरूङ निर्माण गर्न बाँकी छ। अबको २ महिनाभित्र सुरूङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्यसहित काम भइरहेको छ। सिभिल ठेकेदारले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरूङ खन्न सुरू गरेको थियो। बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरका चार अडिटबाट सुरूङ निर्माणलाई तीव्रता दिइएको छ।

सुरूङबाट आउने पानीलाई रघुगङ्गा-३, पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरूङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ।

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। विद्युतगृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर बटम प्रेसर साफ्टको सुरूङ यसअघि नै जोडिएको थियो।

अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरूङ निर्माण सकिएको छ।

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ। विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युतगृहका उपकरण आयात गर्न थालेको छ ।

भारतीय आयात-निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ।

प्राकृतिक विपद्, कोरोना (भाइरस)को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन्।

सर्वोच्च अदालतको विसं २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो ।

यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा जोड्न ‘लुप इन लुप आउट’ (लिलो) का चार टावर तयार भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *