धरौटी बुझाउन नसक्दा थुनामै रहेका शरणार्थी नेता रिजाल बल्ल भए रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। सात महिनादेखि हिरासतमा रहेका नेता रिजाल धरौटी बुझाएर बुधवार रिहा भएका हुन्।

उनलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमै थिए। धरौटी बुझाएपछि उनी बुधबार रिहा भएको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए ।

रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। धरौटीको रकम बुझाउन नसक्दा उनी आदेश आएपछि पनि झन्डै एक महिना कारागारमा रहनुपर्‍यो । गत मङ्सिर १५ मा उनलाई धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण बुधबार मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रुपैयाँ बुझाएर रिहा भएका थिए।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्। उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजित राईलगायत भने पुर्पक्षका लागि कारागार नै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *