राष्ट्रिय सभाको सदस्य बन्न कांग्रेसबाट सिटौला र सुजातासहित २५ केन्द्रीय नेता आकाङ्क्षी

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेसका २५ केन्द्रीय नेताले आकाङ्क्षा राखेका छन्। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकाङ्क्षीको सूची तयार पार्दा २५ केन्द्रीय नेताको नाम आएको छ। कोशी र बागमतीबाट ८-८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय नेता राष्ट्रियसभा सदस्य उम्मेदवारको आकाङ्क्षी छन् ।

सुदूरपश्चिम प्रदेश समितिले भने जिल्लाबाट प्राप्त सबै नाम पठाउने निर्णय गरेपनि अन्तिम टुङ्गो लगाएको छैन्। मधेसले नाम सङ्कलन गरी नसकेको प्रदेश तहका नेताले जानकारी गराएका छन्।

कोशीबाट केन्द्रीय नेताहरू कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ। नेताहरू महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ।

सिटौला गत आम निर्वाचनमा झापा-३ बाट पराजित भएका थिए। गत निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवारको आकाङ्क्षी रहेका केन्द्रीय सदस्यद्वय रिजाल र संग्रौला मोरङमा टिकट पाएका थिएनन्।

सुजाता मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन्। पार्टीको १४ औँ महाधिवेशनमा उपसभापतिमा पराजित महेश आचार्यले गत निर्वाचनमा टिकट पाउन सकेनन्। घिमिरे गत निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए।

कोशीबाट पूर्व केन्द्रीय सदस्यमा पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, हसन अन्सारी लगायतको नाम पनि राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिने प्रदेश समितिले जनाइको छ ।

बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदकारको आकाङ्क्षी सूचीमा छन्।

कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नाम समेत सिफारिस भएको छ। बागमतीबाट पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको नाम पनि सिफारिस भएको छ। १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बाबुकृष्ण सापकोटाको नाम पनि बागमतीबाट सिफारिस भएको छ।

गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ। पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ ।

लुम्बिनीबाट केन्द्रीय सदस्यहरू डा. गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ। पोखरेलले गत आम चुनावमा निर्वाचनमा प्युठानमा टिकट पाएनन्। भुसाल अर्घाखाँचीमा पराजित भएकी हुन्। सार्वजनिक लेखा समितिका पूर्व सभापति शाह गत आम निर्वाचनमा रुपन्देही-५ मा पराजित भएका थिए।

कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम कर्णालीबाट सिफारिस भएको छ। प्रदेश सभापतिमा पराजित भूपेन्द्रजंग शाहीको नाम पनि प्रदेश समितिले सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *