चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजार रूपैयाँले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो बिक्रीबाट १८ लाख रुपैयाँ आम्दानी भएको टेम्केमैयुङ-१, तिम्माका किसान देवेन्द्र राउतले बताए ।

सुरूमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी १० हजार रूपैयाँका दरले १० केजी बीउ बेच्न सफल भएको उनले बताए । ‘यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ,’ राउतले भने, ‘चिराइतो र यसको बीउ गरेर १८ लाख रूपैयाँको बिक्री गरेँ । सुरूमा मैले प्रतिमन ४४ हजार रूपैयाँमा बेचेँ । अहिले प्रतिमन ५० हजार रूपैयाँमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ ।’

यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्लाबाहिर गएको चिराइतो व्यवसायी संगम राईले बताए। ‘यस वर्ष चिराइतोको मूल्य बढेको छ’, उनले भने, ‘जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।’

टेम्केमैयुङ-१, तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र एक करोड ६५ लाखको चिराइतो उठाएको उनको भनाइ छ । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताए ।

ज्वरो, दम, रूघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताए । ‘यसको महत्त्व धेरै छ’, उनले भने, ‘धैरै वर्षको अन्तरालमा चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ । यसले हामी किसानमा थप हौसला मिलेको छ ।’

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका-५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *