चेक गणतन्त्रमा बन्दुकधारीको आक्रमणबाट १५ जनाको मृत्यु, २४ घाइते

राजधानी प्रागमा रहेको चेक रिपब्लिकको प्रसिद्ध विश्वविद्यालय चार्ल्स युनिभर्सिटीमा एक आक्रमणकारीले चलाएको बन्दुकबाट निस्किएको गोली लागेर कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

आक्रमणकारी विद्यार्थीले विश्वविद्यालयको दर्शन विभागको भवनमा विद्यार्थीबीचको भिडमा चलाएको बन्दुकबाट बिहीबार यस्तो मानव संहार भएको एसोसिएट प्रेसले उल्लेख गरेको छ ।

प्रागका प्रहरी प्रमुख मार्टिन मोन्डार्सकका अनुसार ती बन्दुकधारी पनि मारिएका छन् । उनको नाम भने प्रहरीले बताएको छैन । ती आक्रमणकारीले गोली चलाउनुको कारण खुल्न सकेको छैन तर चेक गणतन्त्रको गृह मन्त्रालयका अधिकारीहरूले सो आक्रमणको पछाडि कुनै समूहगत संलग्नता वा कुनै विचारधाराको प्रभाव नदेखिएको जानकारी दिएका छन् ।

बन्दुकधारीले अघिल्लो साताको बिहीबार आफ्नै बाबुलाई पनि गोली हानेर हत्या गरेका थिए । हत्यापछि आक्रमणकारी फरार भएका थिए ।

प्रहरीका अनुसार उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् । ती बन्दुकधारीले अघिल्लो महिना उनको गृहनगरमा अर्का एक व्यक्ति र सानो दुई महिनाको बालकलाई पनि मारेको आशंका प्रहरीले गरेको छ ।

अपराधीलाई छिटो पक्राउ गर्न नसक्दा उनबाट समूहगत हत्याकाण्ड हुन गएकाले चेक गणतन्त्रमा प्रहरी र गृह प्रशासनको व्यापक आलोचना सुरू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *