बारूदी सुरूङमार्फत आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्छ : पार्वत गुरूङ

नेकपा (एमाले) का नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले बारूदी सुरूङ प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने गतिविधि तत्काल अन्त्य गर्नुपर्ने बताएका छन्।

विभिन्न व्यक्ति तथा स्वार्थ समूहहरूले अहिले पनि आफ्नो निजी स्वार्थ पूर्तिका लागि बारूदी सुरूङ प्रयोग गरिरहेको उल्लेख गर्दै उनले त्यसको अन्त्य गर्न सरकार र सबै राजनीतिक दलहरूलाई सचेत गराए।

बुधबार काठमाडौंमा आयोजित ‘संक्रमणकालिन न्यायमा बारूदी सुरूङ र विष्फोटक पदार्थका पीडितहरूको न्याय तथा माइन एक्सनमा समावेशिताको सवाल’ विषयक छलफल कार्यक्रममा बोल्दै नेता गुरूङले बारूदी सुरूङ प्रयोगको जस-अपजस माओवादीले लिनुपर्ने बताए।

उनले आफूले निर्वाचनका बेला ठाउँ-ठाउँमा बारूदी सुरूङको सामना गर्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताए। मुलुक शान्ति प्रक्रियामा आए पनि त्यसको प्रयोग अझै पनि नेपाली समाजमा भइरहेकाले अन्त्यका लागि सबै सचेत रहनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले बारूदी सुरूङलाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन, २०७४ मा नसमेटिएकोमा असन्तुष्टि व्यक्त गरे।

रोल्पामा हालै बारूदी सुरूङका कारण मानिसहरूको ज्यान गएको घटनाको उदाहरण दिँदै उनले त्यसलाई सम्पूर्ण रूपमा हटाउने कुरामा सबैले जोड दिनुपर्ने आवश्यकता औंल्याए।

बारूदी सुरूङ मानव निर्मित विपद् भएकाले यसबाट हुने जोखिमको अन्त्य गर्ने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उपमहासचिव तुलाधरले बताए।

उपमहासचिव तुलाधरले द्वन्द्वकालमा बिछ्याइएका विष्फोटक पदार्थहरूको खोजी गरी नष्ट गर्न ढिलाइ गर्न नहुने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर