भारतीय संसदको हिउँदे अधिवेशनमा एकैदिन ७८ सांसद निलम्बित
भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई पटक-पटक संसदको कार्यवाही अवरूद्ध गरेको भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ ।
भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।
गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा अमर्यादित आचरण गरेको भन्दै निलम्बित गरिएको थियो ।
त्यसैगरी गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी संघीय सरकारविरूद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसदभित्र सुरक्षा उल्लंघनको विषय उठाउँदै पटक-पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लंघनको घटना अत्यन्त गम्भीर भएको बताएका छन् ।
सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लंघनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।
योसँगै संसदको हिउँदे अधिवेशनमा निलम्बित हुने सांसदको संख्या ९२ पुगेको छ ।
प्रतिक्रिया