गरिमा क्यापिटलले पायो म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरीको अनुमतिपत्र
काठमाडौंमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ।
धितोपत्र बोर्डबाट मंसिर २२ गते धितोपत्रसम्बन्धी ऐन तथा सो ऐनअन्तर्गत बनेका नियम तथा अन्य प्रचलित कानुनको अधीनमा उसले सो अनुमति पाएको हो।
गरिमा क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट अनुमतिपत्रप्राप्त मर्चेन्ट बैंकर हो। यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरो शेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ।
निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै जाने कम्पनीले जनाएको छ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो। गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ।
आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका लागि विभिन्न नवीनतम प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने कम्पनीको भनाइ छ।
प्रतिक्रिया