गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूचओ) ले इजरायली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल-शिफा अस्पतालको आपतकालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरूत्थानको खाँचो’ रहेको आइतबार बताएको छ ।
डब्ल्यूएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको एउटा टोली शनिबार प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपर्ति पुर्याउन सक्षम भएको छ । ‘हजारौँ विस्थापितहरू आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेका छन्, पिउने पानी र भोजनको चरम अभाव छ,’ डब्ल्यूएचओले विज्ञप्तिमा भनेको छ, ‘टोलीले आपथकालीन विभागलाई रगतको खोलोका रूपमा वर्णन गरेको छ, उक्त विभागमा सयौँ घाइते बिरामी थिए र प्रत्येक मिनेटमा नयाँ बिरामी आइरहेका थिए, आघातबाट घाइते बिरामीहरूलाई जमिनमा टाँका लगाइरहेको थियो र दुखाइ कम गर्ने कुनै व्यवस्था थिएन ।’
अस्पतालले अत्यन्त कम कर्मचारीहरूका साथ न्यूनतमस्तरमा काम गरिरहेको भन्दै डब्ल्यूएचओले गम्भीर बिरामीहरूको शल्यक्रियाका लागि अल-अहली अरब अस्पतालमा सार्ने काम भइरहेको बताएको छ । अक्सिजन र आपूर्तिको कमीका कारण अपरेटिङ थिएटरले काम नगरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । डब्ल्यूएचओले भनेको छ, ‘यो पुनरूत्थानको आवश्यकता रहेको अस्पताल हो ।’ अस्पतालमा दैनिक ३० बिरामीले मात्र डायलासिस गर्न पाउँछन् ।
अक्टोबर ७ मा इजराइली क्षेत्रमा हमासले गरेको अभूतपूर्व हमलापछि इजरायली सेनाले गरेको बमबारी र स्थल कारबाहीबाट गाजापट्टीमा सबै स्वास्थ्य पूर्वाधारमा व्यापक क्षति भएको छ ।
इजरायली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो । हमासका अनुसार गाजामा इजरायलको जवाफी हमलामा अधिकांश महिला तथा बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ ।
इजरायलले हमासमाथि अस्पतालमुनि कमान्ड सेन्टर सञ्चालन गरेको आरोप लगाएको छ । उक्त अस्पताललाई युद्धको कानुनअन्तर्गत विशेष सुरक्षा प्राप्त छ । अस्पतालका अधिकारी र प्यालेस्टिनी लडाकु समूह हमासले बारम्बार उक्त आरोपलाई खारेज गरेका छन् ।
पूर्वाधार सेवाहरू पुनः सुरू गर्न आगामी साताहरूमा अल-शिफा अस्पताललाई सुदृढ गरिने डब्ल्यूएचओले बताएको छ । ‘आवश्यक कर्मचारीका साथ इन्धन, अक्सिजन, औषधि, भोजन र पानीको नियमित आपूर्ति प्रदान गरिने हो भने अस्पतालमा २० अपरेटिङ थिएटरका साथै पोस्ट-अपरेटिभ हेरचाह सेवाहरू पनि सक्रिय बनाउन सकिन्छ,’ डब्ल्यूएचओले भनेको छ ।
हाल अल-अहली अरब गाजापट्टीको सम्पूर्ण उत्तरमा आंशिक रूपमा काम गर्ने एउटा मात्र अस्पताल हो । अल-शिफा, अल अवदा र अल सहबा मेडिकल कम्प्लेक्सले न्यूनतमस्तरमा काम गरिरहेका छन् । युद्ध सुरू हुनुअघि त्यहाँ २४ परिचालन सुविधा थिए ।
प्रतिक्रिया