बालिकाहरूमाथि यौनजन्य हिंसा बढ्दो, अधिकांश घटना आफन्त र चिनजानका व्यक्तिबाटै
सात बालिका सन्तानसहित दीर्घकालीन पुनर्स्थापना केन्द्रको संरक्षणमा
गत ५ भदौमा आफ्नै हजुरबुबाले १४ वर्षीय नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा प्रहरीले इलामबाट हजुरबुबालाई पक्राउ गर्यो। ६५ वर्षीय हजुरबुबाले आफ्नै छोराकी छोरीलाई एक वर्षयता पटक-पटक करणी गर्दै आएको र चार महिनाको गर्भ रहेको स्वास्थ्य जाँचबाट खुलेको थियो ।
विद्यालयमा अध्ययनरत छात्रालाई अस्वाभाविक देखेपछि शिक्षक-शिक्षिकाले अनुसन्धान गरेर बालिकामाथि सोधखोज गरेको र बालिकाले आफ्नै हजुरबुवाले आफूमाथि यस्तो कार्य गरेको बताएपछि प्रहरीले हजुरबुबालाई पक्राउ गरेको थियो ।
गएको असारमा इलामकै एक बालिकाको आफ्नै सौतेनी बाबुले बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो । १२ वर्षकी उक्त बालिकामा तीन महिनाको गर्भ आएपछि उनी बलात्कृत भएको पुष्टि भएको थियो । बलात्कार अभियोग लागेका बाबु अहिलेसम्म फरार नै छन् ।
बालिकाकी आमाले दोस्रो विवाह गरेको केही समयपछि सुत्केरी भइन् । दोस्रो विवाह गरेर गएकी आमा सुत्केरी हुँदा घरमा सरसहयोगका लागि लगिएकी उक्त बालिकालाई सौतेनी बाबुले गर्भवती बनाएर फरार भए । ती बालिका अहिले आफन्तसँग बेसेकी छिन् ।
गत भदौ १५ गते मोरङमा १३ वर्षीय बालिकाले बच्चा जन्माइन् भन्ने खबर सार्वजनिक भयो । १६ वर्षीय किशोरको जबरजस्ती करणीबाट उनी गर्भवती भएकी थिइन् । गर्भ ८ महिनाको भएपछि मात्र परिवारले थाहा पाए । ती बालिकाले जन्माएको शिशुलाई संरक्षण गृहमा राखिएको छ ।
कोशी प्रदेशमा रहेको दीर्घकालीन पुनर्स्थापना केन्द्रमा मात्रै १७ जना बालिका आश्रयमा बसेका छन् । जसमध्ये ७ जना आमा बनिसकेका छन् । आमा बनेकाहरू आफैँमा बालबालिका हुन् ।
जबरजस्ती करणीका घटनामा सबैभन्दा बढी साना उमेरका बालबालिकाहरू पीडित हुने गरेको माथि उल्लेखित घटनाक्रमले पनि पुष्टि गर्दछ । यतिसम्मकी उमेरले आफैँ बालबालिका उनीहरू यौनजन्य हिंसाको सिकार हुँदा सानै उमेरमा आमा बन्न बाध्य हुन परेको छ ।
कोशी प्रदेश प्रहरीको तथ्याङ्कले पनि पछिल्लो समय १८ वर्ष मुनीका बालिका माथि हुने यौनजन्य हिंसाका घटना वृद्धि भएको देखाएको छ ।
कोशी प्रदेशमा पछिल्लो तीन वर्षमा दर्ता भएका बलात्कारका १ हजार ८ सय ५४ मुद्दा मध्ये १ हजार २९६ वटा बालिकामाथि करणीका छन् । आर्थिक वर्ष ७७/०७८ देखि ७९/०८० र ०८०/०८१ को कात्तिक मसान्तसम्मको अवधिमा दर्ता भएको करणी उद्योगका ४ सय ६८ मुद्दामा २ सय ६९ वटा बालिका माथि करणी भएका छन् ।
प्रहरीको यो तथ्याङ्कले बालिकामाथि हुने यौनजन्य हिंसाको जोखिम उच्च रहेको देखाएको छ । यस्ता घटनामा पीडकहरू नजिकका आफन्त, परिवारका सदस्य, नातागोता तथा आफ्नै साथीभाइ हुने गरेको प्रहरीको भनाइ छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका सहप्रवक्ता सुनिल दाहालका अनुसार धेरैजसो घटनामा उमेर नपुगेका बालिकाहरू नै बलात्कार पीडित बनेको पाइएको छ ।
दाहालका अनुसार सानो उमेर भएकाले प्रतिकार गर्न नसक्ने अवस्थाका कारण उनीहरू यौन हिंसामा परेका देखिन्छ । यस्ता घटनामा नाताभित्रकै, आफन्त र विश्वास गरेको मानिसहरूको बढी संलग्नता देखिएको छ।
आफ्नै साथीहरूले विभिन्न प्रलोभनमा पारी पीडकहरूले बालिकाहरूलाई फकाइ, डर-धम्की वा बलात्कार गर्ने गरेको प्रहरीको भनाइ छ । लामो समयसम्म घटना सार्वजनिक नहुँदा पीडित बालिकाहरू आमा बन्ने गरेको अवस्थासमेत भएको सहप्रवक्ता दाहालले बताए ।
बलात्कार वा यौनजन्य दुर्व्यवहारका घटनामा बालिकाहरू नै बढी प्रभावित भइरहेको चालु आर्थिक वर्षको तथ्याङ्कले देखाएको छ ।
संसार भरी अहिले लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेको छ । यो वर्षको अभियानको नारा महिला र बालिकामाथिको हिंसा नियन्त्रणका लागि बालिकामा एकीकृत लगानी गरौँ भन्ने तय गरिएको छ ।
नारामा उल्लेख गरेअनुसारको लगानी साँच्चिकै बालिकामा गर्ने हो भने बालिकामाथि हुने हिंसामा कमी आउने आवाज विभिन्न फोरमहरूमा उठ्दै आएको छ ।
केही दिनअघि विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्चमा समेत प्रहरीमा दर्ता हुने मुद्दा तथा उजुरीको दर मात्रै बढेको नभएर हिंसाको स्वरूपमा समेत वृद्धि भएको र यसबाट बालिकाहरू बढी प्रभावित भएको निष्कर्ष निकालिएको महिला मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेश संयोजक मञ्जिता उपाध्यायले बताइन् । उनका अनुसार अहिले बालिका माथि हुने यौनजन्य हिंसाका घटना समाजमा बढेका छन् ।
समाजमा पहिला पनि घटना हुन्थे तर बाहिर आउँदैन थिए । तर, पछिल्लो समयमा सचेतना बढेकोले घटना बाहिर आउने गरे पनि अहिले पनि कानुन कार्यान्वयनको अवस्था कमजोर भएकोले प्रभावितहरूले सहजै न्याय पाउन सकेको उपाध्याय बत्ताउँछिन्। त्यसैले पीडकहरूलाई कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन र न्याय पाउन सहज वातावरण बनाउनुपर्ने आवश्यकता रहेको पनि उपाध्यायको भनाइ छ ।
कोशी प्रदेशमा ३ वर्षको अवधिमा दर्ता भएका ३ हजार ४ सय ७१ वटा लैङ्गिक हिंसाका मुद्दामा ३ हजार ३४९ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको कोशी प्रदेश प्रहरीका सह प्रवक्ता दाहालले बताए ।
कोशी प्रदेश प्रहरीमा जबरजस्ती करणी, करणी उद्योगबाहेक अप्राकृतिक मैथुन का २१ वटा, मानव बेचबिखन तथा ओसारपसारका ५७ वटा, अपहरणका ३७ वटा ,बहुविवाहका ३४ वटा यस्तै बालविवाहका ४ सय ७९ वटा, बोक्सीको आरोपका ११ वटा, कर्तव्य ज्यानका १ सय ७६ वटा र गर्भपतनका घटनाका २४ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया