म्यानमार पुर्‍याएर बन्धक बनाई चिनियाँ कम्पनीमा अनलाइन ठगीमा लगाउने एक जना पक्राउ

थाइल्याण्डस्थित चिनियाँ कम्पनीमा अंग्रेजी अनुवादकको राम्रो रोजगारीको प्रलोभन देखाई झुक्याएर म्यानमार पुर्‍याएको तथा त्यहाँ पुर्‍याएर बन्धक बनाई दाससरह चिनियाँ कम्पनीमा अनलाइन ठगीमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौंको बाँसबारीका ३६ वर्षीय बुद्ध लामालाई आइतबार पक्राउ गरेको हो।

उनले पीडितलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएर बन्धक बनाई दिनको १८-२० घण्टासम्म दाससरह अनलाइन ठगीमा लगाएको आरोप छ।

उनीविरूद्ध मावन बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

‘कल सेन्टरमा अंग्रेजी अनुवादकको काम हो, मासिक १ लाख ३० हजार रूपैयाँ कमाइ हुन्छ, खाने, बस्ने व्यवस्थासमेत कम्पनीले नै गर्छ, राम्रो काम गर्दै गए पारिश्रमिक पनि बढ्दै जान्छ’ भनी प्रतिवादीहरूले १ लाख ५० हजार रूपैयाँ लिएर पीडितलाई म्यानमार पठाएको खुलेको छ।

पीडितलाई थाइल्याण्ड भनेर झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्‍याएपछि फेसबुक, ह्वाटसएप, एक्सजस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकहरूलाई ट्र्यापमा पारी अनलाइनमार्फत बिट क्वाइनमा लगानी गर्न आकर्षित गर्ने तरिकाबारे ७ दिनको तालिम दिएको पाइएको छ।

कम्पनीले तोकेअनुसारको लक्ष्य पुर्‍याउन नसकेमा कुटपिट गर्ने, इलेक्ट्रिक सक (करेन्ट) लगाउने जस्ता शारीरिक-मानसिक यातना दिने गरेको अनुसन्धानबाट थाहा भएको छ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी क्यामेरासमेत जडान गरी कम्पनीभन्दा बाहिर आफुखुसी जान नपाउने गरी कम्पनीभित्रै १८-२० घण्टासम्म अनलाइन ठगीको काममा लगाई साइबर दास बनाएर राखिएको पाइएको छ।

पीडितलाई म्यानमार पुगेको १० महिनापछि नेपाल फर्कन म्यानमारस्थित कम्पनीलाई ८ लाख रूपैयाँ तिर्न बाध्य बनाएको समेत खुलेको छ।

घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास एवं पक्राउलगायत अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर